logo

२०८३ असोज ७ बुधबार

बूढासुब्बा गोल्डकपमा केएफटिसी फाइनलमा

बूढासुब्बा गोल्डकपमा केएफटिसी फाइनलमा


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    धरान । धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) फाइनलमा प्रवेश गरेको छ ।

    धरान–१६ स्थित रङ्गशालामा बुधबार भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो । केएफटिसीका लागि विदेशी खेलाडी यमी, सुशील राई र निशान लिम्बूले गोल योगदान गरे ।

    खेलको २२औँ मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो । यमीले विपक्षी दुई डिफेन्स र गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरे । बदलामा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै खेल बराबरीमा पुर्याए । भुजेलले प्रतिक लामाको पासमा सानदार हेड गोल गरेका थिए ।

    पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केएफटिसीले थप दुई गोल गरी टिमलाई विजय सुनिश्चित गरेको थियो । दोस्रो हाफको ४७ औँ  मिनेटमा यमीको क्रसमा गिल्सन लिम्बूले मिलाइदिएको पासलाई केएफटिसीका सुशील राईले गोल गरे । खेलको इन्जुरी समयमा सुशील राईलाई विपक्षी डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले अर्को गोल गरे ।

    खेलको म्यान अफ द म्याच भने केएफटिसीका यमी घोषित भई नगद  १० हजार पुरस्कार पाएका छन् । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताए । बिहीबार विदेशी टिम एभिनियर क्यामरुन र एन्फा मोरङबीच सेमी फाइनलको खेल हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend