काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको बताएका छन् ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताएका हुन् ।
उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको बताए । उनले यसको बिरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।
उनले भने, ‘ एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भनेर आदेश दिने कुरा भनेको त्यो निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि । हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ, किन सडकमा निस्किन सक्दैनौँ ? सक्नेहरु विचार मिल्नेहरु एउटै पार्टी बनाऔं ।’
भट्टराईले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती, कमजोरीहरु महशुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुने उल्लेख गरे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend