logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नयाँ राष्ट्रपति पदको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।

    आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

    तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

    पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।

    राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend