logo

२०८३ असोज ७ बुधबार

शीतलज्योति कप फुटबलको उपाधि एलजी एकतालाई

शीतलज्योति कप फुटबलको उपाधि एलजी एकतालाई


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    पोखरा । पोखरामा सञ्चालन भएकोे तेस्रो संस्करणको ‘शीतलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि एलजी एकताले जितेको छ ।

    शीतलज्योति युवा क्लब पोखरा–१२ को आयोजनामा अमरसिंह चौरमा यही फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा रत्न सेवा समाजलाई सडन डेथमा पराजित गरी एलजी च्याम्पियन बनेको हो ।

    उपाधि विजेता एलजीले एक लाख ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता रत्नले ८५ हजार पाँच सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

    खेलको निर्धारित र अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा समेत समान तीन–तीन गोल भएपछि टाइब्रेकरको सडेन डेथमा ७–६ मा एलजी च्याम्पियन बन्यो ।

    सडेन डेथमा रत्न समाजका गोलरक्षक विश्वास पौडेलको प्रहार क्रसबारमा लागेर फर्कियो । एलजीका गोलरक्षक कृष्ण गुरुङले सडेन डेथमा गोल गरी टोलीलाई उपाधि दिलाउन सफल भए ।

    प्रतियोगितामा इ–लाइट फुटबल क्लब अनुशासित टोली घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद आठ हजार पुरस्कार पायो । प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए ।

    उनले माउण्टेन वाइक पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा रत्न समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा रत्नका नकुल तामाङ, उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए ।

    सर्वाधिक गोलकर्ताको उपाधि तारा एफसीका मनिस थापामगरले पाएका छन् । उनीहरु सबैले जनही पाँच हजारका साथमा ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।

    विजयी खेलाडीलाई नेपाल सेभेन ए साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लबका अध्यक्ष नरप्रसाद गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend