काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले सहकारी ठगी प्रकरणमा सबैमाथि अनुसन्धान गर्नुपर्ने जनाउनु भएको छ । उहाँले आरोप लागेका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभएको हो ।
मन्त्री शाहले पुराना पार्टीहरूलाई केही ‘हाउस क्लिनिंग’ गर्न आग्रह गर्नुभएको छ । उहाँले सबै दलभित्र पार्टी र विचारधाराको लाभ उठाउँदै आफ्नै व्यक्तिगत फाइदा लुट्न चाहने व्यक्तिहरू धेरै भएको आरोप लगाउनुभएको छ । पुराना पार्टीहरूले आन्तरिक सुधार र स्वच्छता आवश्यक भएमात्र जनताले प्रभावकारी र जिम्मेवार शासनको अनुभूति गर्न पाउने उहाँको भनाई छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहनुभएका मन्त्री शाहले आम जनताको विश्वास पुन: जित्नका लागि राम्रो र कानूनी शासनको नयाँ सन्देश दिनुपर्ने स्पष्ट गर्नुभयो । सहकारी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नुभएको छ ।
सहकारी प्रकरणमा नै नेकपा एमाले, नेपाली कांग्रेससहित पुराना दलका केही नेताहरूमाथि पनि ठगीको आरोप लाग्ने गरेको छ । केही दिन अघि एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले पनि दल र व्यक्ति नहेरी आरोप लागेका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताउनुभएको थियो ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend