logo

२०८३ असोज ७ बुधबार

राष्ट्रिय चेस स्पर्धामा महिला तर्फ प्रतिस्पर्धा रोचक, पुरुष तर्फ रुपेश जैसवालको अग्रता कायम

राष्ट्रिय चेस स्पर्धामा महिला तर्फ प्रतिस्पर्धा रोचक, पुरुष तर्फ रुपेश जैसवालको अग्रता कायम


हाम्रो राष्ट्र
  • बुधबार, १६ माघ २०८१
  • 3.1K
    SHARES

    हेटौंडा: नेपाल बुद्धिचाल महासंघद्वारा आयोजित १०औं महिला तथा २५औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडाको होटल सामनामा जारी छ। चौथो दिनसम्म महिला तर्फको खेल थप रोमाञ्चक बन्दै गएको छ भने पुरुष तर्फ रुपेश जैसवालले अग्रता कायम गरेका छन्।

    महिला राष्ट्रिय चेसमा काठमाडौंकी सिन्दिरा जोशी र एञ्जल महर्जनले समान ५ अंक जोड्दै संयुक्त रूपमा शीर्ष स्थान ओगटेका छन्। छैटौं चरणमा साबिक विजेता सिन्दिरा जोशीले झापाकी कृतिसारा अधिकारीसँग बराबरी खेल्दा अग्रता फराकिलो पार्ने मौका गुमाइन्, भने १३ वर्षीया एञ्जल महर्जनले ताप्लेजुङकी शुशिला गुरुङलाई पराजित गर्दै सिन्दिरासँग बराबरी स्कोर बनाउन सफल भइन्।

    संयुक्त दोस्रो स्थानमा रहेका बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमालले ४.५ अंक जोड्दै शीर्ष स्थानमा रहेका खेलाडीहरूलाई चुनौती दिइरहेका छन्। छैटौं चरणमा इशाले निहाना श्रेष्ठलाई पराजित गरिन् भने शान्तिले नयुमा मगरमाथि जित हात पारिन्।

    यसैगरी, झापाकी पुनम प्रसाईं र काठमाडौंकी बिनिता कपाली समान ४ अंक सहित संयुक्त तेस्रो स्थानमा रहेका छन्। पुनमले छैटौं चरणमा बिनितालाई पराजित गर्दै महत्वपूर्ण अंक जोडेकी हुन्।


    पुरुषतर्फ एफएम रुपेश जैसवालले छैटौं चरणसम्म ५.५ अंक जोड्दै आफ्नो अग्रता कायम राखेका छन्। पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले कठिन परिस्थितिमा आफ्नो अनुभव प्रयोग गर्दै खेल उल्टाएका थिए।

    दोस्रो स्थानको लागि कडा प्रतिस्पर्धा चलिरहेको छ, जहाँ मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष् फूँयाल र काठमाडौंका पुरुषोत्तम सिलवाल समान ४ अंक सहित रुपेशलाई पछ्याइरहेका छन्।

    तेस्रो स्थानमा ३.५ अंक जोड्दै चार खेलाडी रहेका छन् – झापाका सिएम शुश्रुत दहाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, र काठमाडौंका प्रेमकृष्ण महर्जन।

    प्रतियोगिता संयोजक तथा महासंघका महासचिव धरम बहादुर लामाका अनुसार प्रतियोगिताको सातौं चरणको खेल जारी छ। उनले राष्ट्रिय विजेताहरूलाई काजकिस्तानमा हुने ४६औं चेस ओलम्पियाड, श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता, तथा अन्य अफिसियल खेलहरूमा महासंघले सहभागी गराउने निर्णय भएको जानकारी दिए।

    मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताका उपविजेताले १५ हजार तथा तृतीय हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न कुल २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend