काठमाडौं । रास्वपाले आफ्नो चुनावी घोषणापत्रमार्फत सहकारी र लघुवित्त क्षेत्रलाई पुनर्संरचना गर्दै उत्पादनमुखी लगानीमा केन्द्रित गर्ने नीति सार्वजनिक गरेको छ। पार्टीले सहकारी तथा लघुवित्त संस्थाहरूको लगानीलाई अनुत्पादक घरजग्गा क्षेत्रमा सीमित नराखी स्थानीय सीप, उद्यमशीलता र सामूहिक जमानीमा आधारित बिना–धितो कर्जातर्फ मोड्ने प्रतिबद्धता जनाएको हो।
घोषणापत्रअनुसार सर्वसाधारणको बचत सुरक्षित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने लक्ष्य पार्टीले अघि सारेको छ। बचतकर्ताको हित संरक्षणका लागि ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने प्रस्तावसमेत गरिएको छ। उक्त कोषमार्फत संकटग्रस्त सहकारी तथा वित्तीय संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा, विशेषगरी साना बचतकर्तादेखि भुक्तानी प्रक्रिया सुरु गरिने उल्लेख गरिएको छ।
रास्वपाले सहकारी समस्याको समाधान दण्डमुखी मात्र नभई व्यावहारिक ढंगले खोजिने स्पष्ट पारेको छ। बचतकर्ताको रकम फिर्ता गराउने विषयलाई मुख्य उद्देश्य बनाइने जनाउँदै, यदि सञ्चालक वा व्यवस्थापन पक्ष रकम फिर्ता गर्न इच्छुक र सक्षम देखिए कानुनी मिलापत्रको बाटो खुला गरिने नीति लिइने बताइएको छ। त्यस्तो अवस्थामा स्पष्ट समयसीमा र पूर्ण ग्यारेन्टीसहित उनीहरूलाई बाहिरै बसेर सम्पत्ति परिचालन तथा ऋण असुली गर्ने अवसर प्रदान गरिने उल्लेख छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend