काठमाडौं, आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्यसहित काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा तयारी तीव्र पारिएको छ।
मतदान अधिकृत बिमला कोइरालाका अनुसार मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन, आवश्यक सामग्रीको व्यवस्थापन तथा सुरक्षा समन्वयलगायतका कामहरू द्रुत गतिमा अघि बढाइएको छ। उहाँले निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच समन्वय सुदृढ गरिएको बताउनुभयो।
तयारी मा वडा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रभित्र मतदान केन्द्रको व्यवस्थापन, मतदातालाई सूचना प्रवाह तथा आवश्यक सहजीकरणका विषयमा सुझाव तथा प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रहरूमा आवश्यक भौतिक संरचना, मतदान सामग्री र कर्मचारी व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। सम्बन्धित निकायका प्रतिनिधिहरू स्थल निरीक्षण, तालिम तथा अनुगमनमा खटिरहनुभएको छ।

मतदान अधिकृत कोइरालाले सबै मतदातालाई निर्धारित मितिमा अनिवार्य रूपमा मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले निर्वाचनलाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
काठमाडौं क्षेत्र नम्बर १ मा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यका साथ सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend