
काठमाडौं, केबीए ग्लोबल एजुकेशन एण्ड माइग्रेसनले वैदेशिक अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौंमा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सफलतापूर्वक सम्पन्न गरेको छ। बुधबार नयाँ बानेश्वरस्थित ओमकार भवनमा आयोजित उक्त फेयरमा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूलाई सही मार्गदर्शन गर्ने उद्देश्यले यो मेला आयोजना गरिएको केबीए ग्लोबलका नेपाल विजनेस डेभलपमेन्ट डाइरेक्टर विनोद दाहालले जानकारी दिए।
फेयरमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले अमेरिका, अष्ट्रेलिया, क्यानडा, संयुक्त अधिराज्य (यूके) र न्युजिल्याण्डका विभिन्न विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श गर्ने अवसर पाएका थिए। डाइरेक्टर दाहालका अनुसार यस प्रकारको प्रत्यक्ष अन्तरक्रियाले विद्यार्थीहरूमा कुन देश र कुन शैक्षिक संस्था आफ्नो भविष्यका लागि उपयुक्त हुन्छ भन्ने अन्योलता हटाउन र सही गन्तव्य छनोट गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको छ। मेलामा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया र त्यहाँका सम्भावनाहरूबारे आधिकारिक जानकारी प्रदान गरिएको थियो।
परामर्शका साथै फेयरमा सहभागी विद्यार्थीहरूका लागि विशेष अफरहरूको समेत व्यवस्था गरिएको थियो। केबीए ग्लोबलले आइइएलटीएस (IELTS) र पीटीई (PTE) तयारी कक्षामा ५० प्रतिशतसम्म छात्रवृत्ति तथा फेयरकै दिन सिट बुकिङ गर्ने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था गरेको थियो। साथै, तयारी कक्षामा भर्ना हुने विद्यार्थीहरूलाई कुनै अतिरिक्त शुल्क नलिई उपयोगी सीपमूलक तालिमसमेत उपलब्ध गराइने जानकारी दिइएको छ।
कार्यक्रमको समापन गर्दै केबीए ग्लोबल काठमाडौंका म्यानेजर प्रेम कार्कीले फेयरलाई सभ्य र भव्य रूपमा सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा विश्वविद्यालयका प्रतिनिधिहरूलाई विशेष धन्यवाद ज्ञापन गरे। पछिल्ला दशकहरूमा उच्च शिक्षाका लागि विदेशिने नेपाली विद्यार्थीहरूको संख्या निरन्तर बढिरहेको सन्दर्भमा, यस्ता मेलाहरूले विद्यार्थी र अभिभावकलाई सही र विश्वसनीय सूचना प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास केबीए ग्लोबलले लिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend