logo

२०८३ असोज ६ मंगलबार

एप्क्यानमा आन्तरिक विवाद छताछुल्ल: असन्तुष्ट पक्षद्वारा विशेष साधारण सभाको तयारी, नेतृत्वमाथि गम्भीर आरोप

एप्क्यानमा आन्तरिक विवाद छताछुल्ल: असन्तुष्ट पक्षद्वारा विशेष साधारण सभाको तयारी, नेतृत्वमाथि गम्भीर आरोप


हाम्रो राष्ट्र
  • आइतबार, २१ असार २०८३
  • 1K
    SHARES

    काठमाडौँ, असार । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) भित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा छताछुल्ल भएको छ। वर्तमान कार्यसमितिले संस्था सञ्चालनमा मनोमानी गरेको, संगठनलाई कमाउने र राजनीतिक स्वार्थ पूरा गर्ने थलो बनाएको आरोप लगाउँदै निवर्तमान पदाधिकारीहरूले विशेष साधारण सभा तथा महाधिवेशनको तयारी थालेका छन्।

    विशेष साधारण सभा तथा महाधिवेशनबारे छलफल गर्न आयोजित वृहत् भेलामा वर्तमान नेतृत्वको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिएको थियो। भेलामा संस्थापक अध्यक्ष, पूर्व महासचिव तथा पूर्व कोषाध्यक्ष लगायतले वर्तमान कार्यसमितिको तीव्र आलोचना गरे।

    ‘खुला छलफल र नयाँ वातावरणको विकल्प छैन’ – संस्थापक अध्यक्ष प्रज्वल बस्नेत

    वृहत् भेलालाई सम्बोधन गर्दै एप्क्यानका संस्थापक अध्यक्ष प्रज्वल बस्नेतले नेतृत्वको कमजोरीका कारण सदस्यहरूमा अविश्वास बढेको बताए। उनले भने:

    “नेतृत्व र सदस्यहरूबीच बढ्दै गएको मनमुटाव, अविश्वास र असन्तुष्टिलाई समाधान गर्न अहिले खुला छलफलको नितान्त आवश्यकता छ। संगठनलाई थप सशक्त, पारदर्शी र सदस्यमुखी बनाउन हामीले विशेष साधारण सभामार्फत नयाँ वातावरण सिर्जना गर्ने उद्देश्य राखेका छौँ।”

    ‘एप्क्यान संकटतर्फ धकेलियो’ – पूर्व महासचिव, नरेश प्रसाद सेंडाई

    भेलामा संस्थाका पूर्व महासचिव नरेश प्रसाद सेंडाईले वर्तमान नेतृत्वको कार्यशैलीकै कारण मुलुककै दोस्रो ठूलो शैक्षिक परामर्श संगठन धराशयी बन्न लागेको दाबी गरे। उनले आक्रोश पोख्दै भने:

    “वर्तमान नेतृत्वको काम, व्यवहार र निर्णय प्रक्रियाप्रति सदस्यहरूमा गहिरो असन्तुष्टि छ। सदस्यहरूका वास्तविक गुनासाहरूलाई सम्बोधन गर्न यो कार्यसमिति पूर्ण रूपमा असफल भएको छ। एप्क्यान देशकै दोस्रो ठूलो शैक्षिक परामर्श व्यवसायी संगठन भए पनि नेतृत्वको कमजोरीका कारण आज सिंगो संगठन संकटतर्फ धकेलिएको छ।”

    ‘विवादलाई समाधानको अवसर बनाउँछौँ’ – पूर्व कोषाध्यक्ष, दीपा लामिछाने

    त्यसैगरी, पूर्व कोषाध्यक्ष दीपा लामिछानेले आन्तरिक मतभेदलाई संस्था सुदृढीकरणको माध्यम बनाउनुपर्नेमा जोड दिए। उनले प्रतिबद्धता व्यक्त गर्दै भने:

    “हामी यो विवादलाई समस्या मात्र ठान्दैनौँ, यसलाई संगठन सुधार्ने एउटा अवसरका रूपमा लिनुपर्छ। सबै सदस्य साथीहरूका गुनासा र भावनालाई सुनेर संगठनलाई आगामी दिनमा थप एकताबद्ध, पारदर्शी र सशक्त बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ।”

    राज्यको अनुगमन र कारबाहीमा नेतृत्व अनभिज्ञ र मूकदर्शक बनेको आरोप

    भेलामा सहभागी अन्य पदाधिकारी तथा सदस्यहरूले राज्यका विभिन्न निकायले शैक्षिक परामर्श संस्थाहरूमाथि गरिरहेको अनुगमन, कारबाही र दबाबका क्रममा वर्तमान कार्यसमितिले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाए।

    सहभागी व्यवसायीहरूले सामूहिक रूपमा प्रश्न उठाए:

    “कतिपय सदस्यहरू कारबाहीमा परेका छन्, कतिपय कानुनी प्रक्रियामा संघर्ष गरिरहेका छन्। तर, हाम्रा वर्तमान अध्यक्ष र पदाधिकारीहरू सदस्यहरूको यो वास्तविक अवस्थाबारे आफैँ अनभिज्ञ छन्। राज्यबाट भएको भनिएको एकतर्फी दबाब र कारबाहीविरुद्ध संगठनको तर्फबाट एउटा औपचारिक विज्ञप्तिसमेत जारी गर्न नसक्ने नेतृत्वले कसरी व्यवसायीको हकहित संरक्षण गर्छ?”

    सदस्यहरूलाई निरन्तर अन्योलमा राख्ने र संस्थाको भविष्य नै अनिश्चित बन्ने अवस्था सिर्जना भएकाले संगठनको गरिमा जोगाउन विशेष साधारण सभा आयोजना गर्नुको विकल्प नरहेको निष्कर्ष भेलाले निकालेको छ। भेलाका सहभागीहरूले एप्क्यानभित्र देखिएको वर्तमान संकटलाई संवाद, पारदर्शिता र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै संस्थाको अस्तित्व, विश्वसनीयता र सदस्यहरूको हितलाई केन्द्रमा राखेर नयाँ नेतृत्व र नयाँ कार्यदिशा आवश्यक रहेको ठहर गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend