काठमाडौं, श्रावण ९ – नेपालको पहिलो महिला समाज सुधारक तथा विद्रोही चिन्तक योगमाया न्यौपानेको योगदानबारे सार्वजनिक वृत्तमा अझ व्यापक बहस, अध्ययन तथा अनुसन्धान हुनुपर्नेमा विभिन्न क्षेत्रका विद्वानहरूले जोड दिएका छन्। बेलायतमा अध्ययन गरी स्वदेश फर्किएका नेपालीहरूको संस्था एसोसिएसन अफ ब्रिटिस एलुम्नी इन नेपाल (ABAN) ले योगमाया स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले योगमायाको जीवन र विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तथा कवि तीर्थप्रसाद श्रेष्ठले आफ्नो आमाको नाम पनि योगमाया भएकाले यो नामसँग आफू भावनात्मक रूपमा जोडिएको उल्लेख गर्नुभयो। उहाँले अन्धकारपूर्ण सामाजिक परिवेशमा विधवा विवाहको पक्षमा आवाज उठाउने, छुवाछुत तथा विभेदको विरोध गर्ने र महिलाको चेतना तथा अधिकारका लागि संघर्ष गर्ने योगमाया नेपाली इतिहासको विद्रोही आवाज भएको बताउनुभयो।
उहाँले योगमायाको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन थप अध्ययन, अनुसन्धान र विमर्श आवश्यक रहेको उल्लेख गर्दै पशुपतिनाथ क्षेत्रको संरक्षण र विकासमा पनि सबैको साझा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा योगमायामाथि पुस्तक प्रकाशन गर्नुभएका एबानका पूर्वअध्यक्ष उत्तमप्रसाद पन्तले योगमायाको जीवनसँग सम्बन्धित ऐतिहासिक तथा सामाजिक पक्षहरूबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँले योगमायाको विषयमा जति धेरै अध्ययन, अनुसन्धान र सार्वजनिक बहस हुन्छ, त्यति नै नयाँ तथ्य बाहिर आउने बताउँदै अनुसन्धानको निरन्तरतामा जोड दिनुभयो।
पन्तले महिलामाथिको हिंसा, अन्याय र सामाजिक विभेदविरुद्ध योगमायाले उठाएको आवाज आज पनि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। उहाँले योगमायाको जीवनसँग सम्बन्धित केही तथ्यहरूमा फरक–फरक धारणा रहेकाले आधिकारिक ऐतिहासिक प्रमाण स्थापित गर्न सबै पक्षबाट अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा योगमायाको सामाजिक, आध्यात्मिक यात्रा र योगदान समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो। भोजपुरको नेपालेडाँडा मझुवाबेँसीलाई योगमायाको साधना र सामाजिक अभियानको केन्द्रका रूपमा स्मरण गर्दै उहाँलाई समाज सुधारक, नारी चेतनाकी अग्रदूत, मानवीय न्यायका पक्षधर तथा अत्याचारविरुद्ध निर्भीक संघर्ष गर्ने व्यक्तित्वका रूपमा चित्रण गरिएको थियो।
कार्यक्रममा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष तथा एबानका पूर्वअध्यक्ष महेश्वर भक्त श्रेष्ठले आर्थिक तथा व्यवस्थापकीय चुनौतीमा रहेको नेपाल वायुसेवा निगमलाई सुधार गर्ने स्पष्ट योजना र आत्मविश्वास रहेको बताउनुभयो। यस्तै, कार्यक्रमका सभाध्यक्ष तथा मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. नस्तु प्रसाद शर्माले वित्तीय अनुशासन, पारदर्शी नेतृत्व र प्रभावकारी व्यवस्थापनमार्फत संस्थालाई घाटाबाट नाफामा पुर्याउन सफल भएको अनुभव साझा गर्नुभयो।
एबानले सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धिलाई आफ्नो प्रमुख कार्यक्षेत्रमध्ये एक मान्दै योगमायाको विचार र योगदानलाई समाजमा थप परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend