ललितपुर, असोज २७, २०८३ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपालको अनौपचारिक अर्थतन्त्रमा कार्यरत श्रमिकको रोजगारीलाई औपचारिक बनाउने, सामाजिक सुरक्षा विस्तार गर्ने तथा श्रमिकको अधिकार, प्रतिनिधित्व र सुरक्षित कार्य वातावरण प्रवर्द्धन गर्ने क्षेत्रमा महत्वपूर्ण प्रगति भएको जनाएको छ।
आईएलओको ‘प्रमोटिङ राइट्स एन्ड सोसल इन्क्लुजन थ्रु अर्गनाइजेसन एन्ड फर्मलाइजेसन’ (पीआरएस) दोस्रो चरणको परियोजनाअन्तर्गत नेपालमा सञ्चालन भएका कार्यक्रमको समापनका अवसरमा असोज २७ गते ललितपुरमा कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा सरकारी निकाय, रोजगारदाता तथा श्रमिक संगठन, विभिन्न प्रतिष्ठान, विकास साझेदार र सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा परियोजनाबाट प्राप्त उपलब्धि, सिकाइ र आगामी दिनमा सफल अभ्यासलाई निरन्तरता दिने विषयमा छलफल गरिएको थियो।
जापान सरकारको आर्थिक सहयोगमा सन् २०२३ देखि २०२६ सम्म नेपाल, भारत र पाकिस्तानमा सञ्चालन गरिएको यस परियोजनाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको रोजगारीलाई औपचारिक बनाउने, सामाजिक सुरक्षा पहुँच विस्तार गर्ने, श्रमिकको प्रतिनिधित्व सुदृढ गर्ने, सामाजिक समावेशिता प्रवर्द्धन गर्ने तथा लैङ्गिक समानतालाई प्राथमिकता दिएको थियो।
कार्यशालामा बोल्दै नेपालस्थित आईएलओका देशीय निर्देशक नुमान ओज्कानले श्रमसम्बन्धी कार्यक्रमको वास्तविक सफलता नीतिगत छलफल र दस्तावेज निर्माणमा मात्र सीमित नहुने बताए। विगतमा सामाजिक सुरक्षाबाट वञ्चित श्रमिकले अहिले कति सुरक्षा प्राप्त गरेका छन्, जोखिमपूर्ण अवस्थामा काम गर्ने श्रमिकको कार्यस्थल कति सुरक्षित भएको छ र लामो समयदेखि बेवास्तामा परेका श्रमिकको योगदानलाई कति सम्मान गर्न थालिएको छ भन्ने आधारमा कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो।
उनले परियोजनाको समयावधि समाप्त भए पनि श्रमिकको अधिकार, सम्मान, सुरक्षा र मर्यादित जीवन सुनिश्चित गर्ने साझा जिम्मेवारी निरन्तर रहनेमा जोड दिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend