ललितपुर । सामुदायिक प्रहरी सेवा केन्द्र, तिखेदेवल, ललितपुर र माछापुच्छ्रे वर्ल्ड स्कुल, ललितपुरको संयुक्त आयोजनामा ‘समुदाय–प्रहरी साझेदारी’ अभियान अन्तर्गत ‘अभिभावक प्रशिक्षण कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ।
मिति २०८३ साल मङ्सिर ४ गते शुक्रवार माछापुच्छ्रे वर्ल्ड स्कुल, ललितपुरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक (फाउन्डर) डा. विनोद यादवज्यूको अध्यक्षता तथा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रज्यूको उपस्थिति रहेको थियो। यसैगरी अन्य अतिथिहरूमा प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहज्यू, माछापुच्छ्रे वर्ल्ड स्कुलका प्रिन्सिपल होमनाथ आचार्यज्यू, ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सरोज खनालज्यू तथा श्रीकृष्ण ढुङ्गानाज्यूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
अतिथिहरूको आसन ग्रहण र राष्ट्रिय गानबाट औपचारिक रूपमा सुरु भएको कार्यक्रममा प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसपश्चात् जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रज्यूले विशेष प्रस्तुतिकरण दिनुभएको थियो भने प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीज्यूले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
अन्त्यमा, कार्यक्रमका सभाध्यक्ष एवं माछापुच्छ्रे वर्ल्ड स्कुलका फाउन्डर डा. विनोद यादवज्यूले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रमको समापनपश्चात् जलपानको समेत व्यवस्था गरिएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend