logo

२०८३ मंसिर ६ शनिबार

नेपाल भिडियो जर्नालिष्ट एशोसिएसनको ११ सदस्यीय तदर्थ समिति गठन

नेपाल भिडियो जर्नालिष्ट एशोसिएसनको ११ सदस्यीय तदर्थ समिति गठन


हाम्रो राष्ट्र
  • शनिबार, ६ मंसिर २०८३
  • 351
    SHARES

    काठमाडौं, ५ मङ्सिर। विश्व टेलिभिजन दिवसको अवसरमा काठमाडौंमा कार्यरत भिडियो पत्रकारहरूको भेलाले नेपाल भिडियो जर्नालिष्ट एशोसिएसनको ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

    आज काठमाडौंमा आयोजित भेलाले नेपाल टेलिभिजनमा कार्यरत भिडियो पत्रकार शिव पंगेनीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो।

    गठित समितिको सदस्यमा कान्तिपुर टेलिभिजनका मुरारी घिमिरे, ग्लोबल टेलिभिजनका राजु थापा, न्युज एजेन्सी नेपालका देवानन्द शिल्पकार, चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका निरनराज वाना तथा भिडियो पत्रकारहरू विनोद थापा, सुरेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, कुमार मानन्धर, विष्णु पन्थी र कृति पन्त रहनुभएको छ।

    तदर्थ समितिका संयोजक पंगेनीले नेपालभर व्यावसायिक रूपमा कार्यरत भिडियो पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको पेसागत हकहित, अधिकार तथा व्यावसायिक सुरक्षाका लागि एशोसिएसन गठन गरिएको बताउनुभयो। उहाँले भिडियो पत्रकारिताको विकास, क्षमता अभिवृद्धि तथा पेसागत एकताका लागि संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले भिडियो पत्रकारहरूको भेलालाई सम्बोधन गर्दै वर्तमान युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारितामा संलग्न पत्रकारहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो।

    “भिडियो पत्रकारितामार्फत विश्वभरका सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै समाजलाई सुसूचित बनाउन सबै भिडियो पत्रकार एकताबद्ध भएर अघि बढ्न आवश्यक छ,” उहाँले भन्नुभयो।

    उहाँले भिडियो पत्रकारहरूको पेसागत एकता, क्षमता विकास तथा अधिकार संरक्षणका लागि एशोसिएसनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

    विश्व टेलिभिजन दिवसको अवसरमा गठन भएको एशोसिएसनले नेपालभर कार्यरत भिडियो पत्रकारहरूलाई एउटै संस्थागत छातामुनि आबद्ध गर्दै भिडियो पत्रकारिताको व्यावसायिक विकास, मर्यादा र सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend