logo

२०८३ असोज ७ बुधबार

विराट गोल्डकपमा युथलाई हराउँदै विराटनगर सिटी फाइनलमा

विराट गोल्डकपमा युथलाई हराउँदै विराटनगर सिटी फाइनलमा


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 1.3K
    SHARES

    विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ ।

    सहिद रङ्गशालामा सोमबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै विराटनगर सिटी घरेलुु मैदानमा उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काए ।

    खेलमा विराटनगरले सङ्घर्षपूर्ण जित हासिल गरेको हो । प्रतिस्पर्धात्मक तथा रोचक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो ।

    जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेको थियो । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो ।

    जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतको कारणले जित हासिल गरेको बताए ।

    उनले पहिलो हाफसम्म खेलाडीले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको उल्लेख गरे । जावलाखेलको प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पटकपटक पाएको अवसर खेर फाल्दा हार भएको बताए ।

    खेलको म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद रु ११ हजार पाए ।

    मङ्गलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुने प्रतियोगिताका व्यवस्थापक सरोज लम्सालले बताए ।

    चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार पुरस्कार पाउने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend