logo

२०८३ असोज ७ बुधबार

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा


हाम्रो राष्ट्र
  • बुधबार, १५ चैत्र २०७९
  • 1.4K
    SHARES

    Unidentified marathon athletes legs running on city road

    जुम्ला । जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्लाअध्यक्ष सरोज शाहीले जानकारी दिए ।

    विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो । अध्यक्ष शाहीले भने, “विगतका तीनवटा संस्करणको सफलतापछि आगामी वैशाख महिनाको ११ गते क्लबले उक्त प्रतियोगिता आयोजना गर्न लागेकोे छ । ”

    धावक रोकायाको सम्मानमा उक्त प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको उनको भनाइ थियो ।

    बितेका वर्षका तयारीअनुसार अब गरिने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न चार ठाउँमा चेक पोइन्ट उपसमिति तथा दौड हुने मार्गका बजार तथा गाउँमा खेलाडीहरुको स्वागत तथा सत्कारको तयारीको काम भइरहेको छ ।

    कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनबाट सुरु भई रारा तालको हुटु छेउमा अन्त्य हुने उक्त प्रतियोगिताको दूरी ४९ किलोमिटर छ ।

    विगतका तीनवटा प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा स्वदेश तथा विदेशका खेलाडी सहभागी रहेकामा यस वर्ष झन्डै दुई हजार खेलाडीको सहभागिता हुने अनुमान गरिएको अध्यक्ष शाहीले बताए ।

    गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्यान्ड, भारत, इटाली, अमेरिकाबाट समेत खेलाडी सहभागी भएका थिए । आउँदो प्रतियोगिताका विभिन्न विधामा २८ धावकलाई नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने भएको छ।

    उक्त म्याराथनको विजेता महिला पुरुष दुवैलाई जनही एक लाख, द्वितीय हुनेलाई ७५ हजार, तृत्तीय हुनेलाई ५० हजार, सान्त्वना हुनेलाई २० हजार र पाँचौँ स्थानमा आउनेलाई २० हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ ।

    त्यस्तै विद्यार्थीहरुबीच पाँच किलोमिटर दूरीको छोटो दौड प्रतियोगिता पनि हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुई हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ।

    यसैगरीे कर्मचारी तथा व्यापारी र उद्योगीबीच पाँच किलोमिटर दूरीको र बालबालिकाको एक किलोमिटर दूरीको दौड प्रतियोगिता पनि हुनेछ ।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । उक्त प्रतियोगिताका लागि झन्डै २२ लाख खर्च लाग्ने अनुमान गरिएको कर्णाली खेलकुद क्लबले जनाएको छ । यो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको धावक हरिबहादुर रोकायाले बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend