logo

२०८३ असोज ७ बुधबार

दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प छैनः पूर्वराष्ट्रपति

दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प छैनः पूर्वराष्ट्रपति


हाम्रो राष्ट्र
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् ।

    ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताए ।

    “जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ”, उनले भने, “त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।”

    सहिदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उनले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने बताए ।

    “कुनै चोटपटक लागेमा हतियारको दोष भन्ने कि हतियार चलाउने मान्छेको ? त्यसैले अहिले नै व्यवस्था खराब भएको टिप्पणी गर्ने बेला भएको छैन । तर गणतन्त्र रक्षाका लागि नेताहरू सुध्रिर्ने र जनताहरू सचेत हुनुपर्ने आवश्यकता भने सधैँ रहन्छ”, पूर्वराष्ट्रपति डा यादवले भने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend