एजेन्सी । इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ । गएराति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो ।
गुडिसन पार्कमा आइतबार राति भएको सहज जितको खेल पछि दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो । म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो ।
पहिलो हाफको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएको केहीबेरमा अर्थात ३९ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भए ।
यसैगरी, दोस्रो हाफको ५१औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० को जितको स्थितिमा ल्याइदिए । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेन ।
अन्ततः म्यानचेस्टर ३–० को अग्रतासहित उपाधि होडतर्फ थप अग्रसर हुन पुग्यो । यस जितसँगै शीर्ष स्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सीमित रहेको छ ।
उता, समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधि होडमा आफूलाई शीर्षस्थानमा राखेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend