logo

२०८३ साउन १३ बुधबार

लालबन्दीबाट एक अर्बको तरकारी निकासी

लालबन्दीबाट एक अर्बको तरकारी निकासी


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब भन्दाबढीको तरकारी निकासी गरेको छ ।

    लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।

    उनका अनुसार आव २०७९/०८० को साउनमा २० करोड दुई लाख, भदौमा १८ करोड ८५ लाख ५२ हजार, असोजमा २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा सात करोड १० लाख ६८ हजार, पुसमा १७ करोड १५ लाख ८८ हजार र माघमा २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन छ ।

    चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।

    जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ ।

    अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।

    लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुन्छ ।

    त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको छ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको ५० लाख ७७ हजार मा सो भवन निर्माण हुनेछ ।

    चालु आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिए । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ वटा बजार रहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend