काठमाडौं । सांसद अमरेशकुमार सिंहले लोकतन्त्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले नै अन्याय खेप्नुपरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयअघि सांसद सिंहले लामो समयसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नहुन बिडम्वना भएको बताए ।
उनले भने, ‘हामी कस्तो लोकतन्त्रको कल्पना गरिरहेका छौं। लामो समयसम्म प्रधानन्यायाधीश नियुक्ति हुँदैन अनि अन्तिममा प्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय गरिन्छ ।सरकार र दल सार्वभौम भएर लोकतन्त्र जोगिन्छ। प्रधानन्यायाधीशले न्याय पाएको छैन। विगतमा पनि न्यायपालिकालाई तर्साएर आफ्नो गल्ती रोक्न खोजिएको थियो। अहिले पनि त्यस्तै प्रयास भइरहेको छ।’
उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई कामु रुपमै नराखी तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन माग गरे । उनले नक्कली नागरिकता प्रमाणपत्र पेस गरेको खुलासा भएपछि डीआइजी अशोक सिंहले राजीनामा दिएकाले उनीमाथि छानविनको पनि माग गरे ।
सरकारले ती प्रहरीलाई आइजीपी बनाउन खोजेको थियो तर नक्कली प्रमाणपत्र भएको सार्वजनिक भएपछि बच्नका लागि राजीनामा दिएकाले उनीमाथि छानविन हुनुपर्ने उनले माग गरे । उनले नक्कली प्रमाणपत्रका दोषीलाई राजीनामा दिएर उन्मुक्ति नदिई अख्तियारले छानविन गर्नुपर्ने बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend