युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उनले रुसलाई पराजित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
दोस्रो विश्वयुद्धपछि युरोपमा भीषण युद्ध शुरु भएको वार्षिकीका सन्दर्भमा युरोपेली मुलुकका राजधानीमा रुसी आक्रमणविरुद्ध विरोध प्रदर्शन भएका छन् भने पश्चिमा राष्ट्रले रुसी ब्याङ्क, सैन्य क्षेत्रलगायत आर्थिक उपार्जनका केन्द्रलाई क्षीण तुल्याउन अझ कठोर प्रतिबन्ध लगाउने अभिव्यक्ति दिइरहेका बेला उत्साहित युक्रेनी राष्ट्रपतिले रुसलाई परास्त गर्ने प्रण गरेका हुन् ।
सात वटा औद्योगिक राष्ट्रको समूहले पनि रुसमाथि गम्भीर नाकाबन्दी लगाउने चेतावनी दिएको छ । पोल्याण्डका प्रधानमन्त्री माटेउज माराविकीले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने बताएका छन् । युक्रेनी विमान चालकहरूलाई लडाकु विमान उडाउने तालिम दिने प्रस्ताव पनि उनले अघि सारेका छन् ।
रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले पोल्याण्डको सिमानाबाट आफ्नो भूमिमा हुने आक्रमणको जवाफ दिन रुस तयार रहेको बताए छन् ।
चीनले युक्रेन युद्धका सम्बन्धमा जारी गरेको १२ बुँदे अवधारणापछि राष्ट्रपति जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने योजनामा आफू रहेको बताएका छन् । चीनले शान्ति वार्ताको थालनी तथा क्षेत्रीय सार्वभौमसत्ताको सम्मान गर्न युद्धरत पक्षलाई आह्वान गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको अवधारणपत्रमा अन्तर्राष्ट्रिय समुदायले शान्ति स्थापनाका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्नेमा जोड दिँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न आह्वान गरेको छ । शान्ति वार्ताको पुनः थालनीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने पनि जनाएको छ ।
नागरिक संरचना र सुविधामा आक्रमण गर्न नहुने, महिला, बालबालिका र द्वन्द्वका अन्य पीडितहरूको सुरक्षा गरिनुपर्ने युद्ध बन्दीका मौलिक अधिकारको सम्मान हुनुपर्नेमा जोड दिँदै चीनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ननहुने बताएको छ । साथै उसले आणविक हतियारको धम्की वा प्रयोगको विरोध गर्दै आणविक सङ्कट निम्तिन नदिनेमा सबै चनाखो हुनुपर्ने बताएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend