logo

२०८३ साउन १५ शुक्रबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आगामी आइतबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले आगामी आइतबार विश्वासको मत लिने


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन् ।

    मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ ।

    विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

    मुख्यमन्त्री शाह केही दिन अघि काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी फर्किएका छन् ।

    “विश्वासको मत लिनका लागि सभामुखसँग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गरिरहनु भएको छ । प्रदेशसभामा एमाले बाहेकका दलसँगको छलफललाई समेत तीव्रता दिनुभएको छ ।” मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले भने ।

    संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

    प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ ।

    त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक एक सदस्य छन् ।

    पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेशसभामा विश्वासको मत पाउनेमा ढुक्क रहनुभएको उनका स्वकीय सचिव शाहीको दाबी छ ।

    गत मङ्सिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

    एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend