logo

२०८३ असोज ७ बुधबार

छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन

छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    इरानमा बुधबार एकसय भन्दाबढी विद्यार्थी अस्पताल भर्ना भएपछि इरानका राष्ट्रपतिले छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन् ।

    राष्ट्रपतिको वेबसाइटमा इब्राहीम रायसीले गृहमन्त्री अहमद वाहिदीलाई आक्रमणको ‘अनुसन्धानको नतिजाबारे निरन्तर जानकारी’ उपलब्ध गराउने जिम्मेवारी दिएको उल्लेख छ ।

    एक सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ ।

    उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानीका तीन गरी कम्तीमा १० वटा छात्रा विद्यालयलाई निशाना बनाइएको सञ्चारमाध्यमले जनाएका छन् ।

    समाचार संस्था तस्निमका अनुसार तेहरानका तीन वटा विद्यालयमा विष सेवन भएको र अर्दाबिलमा भएको घटनाका कारण एक सय आठ जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ ।

    राष्ट्रपति रायसीको वेबसाइटमा प्रभावित विद्यार्थीका ‘परिवारको चिन्ता कम गर्न’ उहाँले वाहिदीलाई जिम्मेवारी तोकी अनुसन्धानका लागि निर्देशन दिएको उल्लेख गरिएको छ ।

    वाहिदीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा बलले संदिग्ध विषाक्ततासम्बन्धी घटनामा तीन जनालाई हिरासतमा लिएको जानकारी दिए ।

    “विभिन्न रिपोर्टहरू बाहिरिएका छन्, ती सबै पूर्ण रूपमा सही छैनन् । आक्रमणमा प्रयोग गरिएको विशिष्ट रासायनिक पदार्थ पत्ता लागेको रिपोर्टहरू गलत हुन्,” उनले भने ।

    पवित्र शहर कोमका विद्यालयहरूमा मुख्यतया मलमा प्रयोग गरिने नाइट्रोजनको अंश फेला परेको उल्लेख गरिएको तर यसमा पूर्ण सत्यता नरहेको भन्दै स्वास्थ्य मन्त्रालयले घटनाको खण्डन गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend