logo

२०८३ साउन १५ शुक्रबार

सबै माओवादी घटकलाई एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

सबै माओवादी घटकलाई एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।

    आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका हुन् ।

    उनले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताए । उनले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै एकअर्काको अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताए ।

    प्रधानमन्त्री दाहालले आफुले एकताका लागि सबै सँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताए ।

    प्रधानमन्त्री दाहालले आफूमाथि जनयुद्धको कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दी बिरुद्ध लडिरहेको बताए ।

    उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरु पनि विभिन्न घेराबन्दीकाबिरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताए ।

    उनले भने, ‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न खाले दबाब र घेराबन्दीबिरुद्ध लडिराखेको छु । मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरु पनि लडिराख्नु भएकै देख्छु ।हामी सबै लडाईं लडिराखेका शक्तिहरु एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend