logo

२०८३ साउन १४ बिहिबार

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    नेपालगंज । बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा हालसम्म नौ हजार क्विन्टल मात्र खरिद गरेको छ ।

    धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

    उनका अनुसार यस वर्ष जिल्लाका आठ सय ४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल खरिद गर्ने लक्ष्य थियो ।

    तीन सय ४० किसानको मध्यम धान सात हजार क्विन्टल र मोटा धान दुई हजार क्विन्टल धान खरिद गरिएको लामिछानेले जानकारी दिए ।

    जिल्लाका आठवटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो । निर्धारित समयभन्दा ढिला धान खरिद सुरु गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई बिक्री गरेको डुडुवा–४ का रामगोपाल बर्माले बताए ।

    “कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेपछि किसानले आफ्नै सुरले बिक्री गरेका हुन्”, उनले भने । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको रु तीन हजार एक सय २८ तोकेको थियो । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान बिक्री गरेको र अन्य पालिकाका केही किसानले धान बिक्री गरेको कार्यालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend