काठमाडौं । राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोक्काले हात पारेका छन् । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ३१औँ स्मृति दिवसका अवसरमा आज बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको उनीले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए । म्याराथनमा च्याम्पियन बनेका रोक्काले रु एक लाख पुरस्कार हात पारेका छन् ।
‘सबैका लागि खेल’ भन्ने नारासहित आयोजना गरिएको म्याराथनमा १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेर सेनाकै नरेन्द्र रावत दोस्रो भइ रु ७५ हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै सेनाकै रामजी बस्नेतले एक घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइ रु ५० हजार पुरस्कार प्राप्त गरेका छन । बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटीमा समापन भएको थियो । कार्यक्रममा नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एमाले सांसद छविलाल विश्वकर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend