logo

२०८३ साउन १३ बुधबार

मध्यकाली गण्डकीलाई नौ अर्ब लगानी जुट्यो

मध्यकाली गण्डकीलाई नौ अर्ब लगानी जुट्यो


हाम्रो राष्ट्र
  • सोमबार, ११ असार २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिका अगुवाइमा छ वाणिज्य बैंकले रु नौ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् ।

    हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको यस आयोजनाको बाँध अन्नपूर्ण–३ सुकेबगरमा र विद्युत् गृह अन्नपूर्ण–२ ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ । चार हजार सय मिटर सुरुङ रहने यस आयोजनाको विद्युत्गृहदेखि फोरवेको उचाइ एक सय १५ मिटर हुनेछ ।

    केही दिनअघि नबिल बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको सम्झौता भएको मध्य कालीगण्डकीको पूर्वाधार निर्माणको तयारी गरेको आयोजना प्रमुख चन्द्र ढकालले जानकारी दिनुभयो । सन् २०२४ मा भौतिक निर्माण सुरु हुने आयोजना चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आइएमई समूहका अध्यक्षसमेत रहनुभएका ढकाल र बैंकहरुको तर्फबाट सहवित्तीयकरणको नेतृत्व गरेको नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको थियो ।

    कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत लगानी नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बंैक र प्रभु बैंकले गर्ने भएका छन् । पच्चीस प्रतिशत प्रवद्र्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।

    नबिल बैंकले रु तीन अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु दुई÷दुई अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले रु एक÷एक अर्ब लगानी गर्नेछन् । नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु ८.४० र वर्षायामको दर रु ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र वर्षामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।

    मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको छ । घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा करिब चार सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend