काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिनुभयो । सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।” उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend