कास्की । हिमाल पारीको जिल्ला मुस्ताङमा च्याङ्ग्रा पश्मिनाको गुणस्तर पहिचानका लागि नेपालमै पहिलोपटक भूवाको नमूना सङ्कलन गरिने भएको छ ।
नेपाल पश्मिना उद्योग सङ्घ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहकार्यमा मुस्ताङका चारवटै पालिकामा गरी एक सय ६० किसानका आठ सय च्याङ्ग्रामा पश्मिनाका लागि आवश्यक कच्चापदार्थ भुवाको नमूना सङ्कलन गर्न लागिएको हो ।
आगामी चैत ८ गतेदेखि नमूना सङ्कलन सुरु हुने भएपछि त्यसअघि अगाडि शुक्रबार पोखरामा मुस्ताङका स्थानीय तहका प्रमुख तथा वडाध्यक्ष, कृषक लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।
सो अवसरमा मुस्ताङका जनप्रतिनिधिले नमूना सङ्कलन कार्यलाई सफल बनाउन आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
मुस्ताङका लोमान्थाङ, लो—घेकर दामोदर कुण्ड, बारागाउँ मुक्ति क्षेत्र र घरापजोङ गाउँपालिकाबाट च्याङ्ग्रा पश्मिनाका लागि भुवाको नमूना सङ्कलन गरी त्यसको गुणस्तर निर्धारण गरिने नेपाल पश्मिना उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष धनप्रसाद लामिछानेले बताए ।
उनका अनुसार चैत ८ देखि १३ गतेसम्म नमूना सङ्कलन कर्ताहरुलाई कागबेनी र चराङमा प्रशिक्षण दिइनेछ । त्यसैगरी चैत १४ देखि २२ गतेसम्म नमूना सङ्कलन गरिनेछ ।
लामिछानेले भने, “च्याङ्ग्रा पश्मिनाको गुणस्तर पत्ता लगाउनका लागि भूवाको लम्बाइ, मोटाइ, आनुवांशिक विशेषताका बारेमा नमूना लिएर अनुसन्धान गर्नेछौँ । त्यसबाट प्राप्त रिपोर्ट अन्तर्राष्ट्रिय बजारमा देखाउने र च्याङ्ग्रा पालक किसानले भुवाबाट गुणस्तर अनुसारको आयआर्जन वृद्धि गर्न सघाउ पुग्नेछ ।”
अमेरिकाको ओडिसा सेन्टर लिमिटेडका डा क्यारोल कर्भिङले आठ स्थानीय भूवा सङ्कलक किसानलाई भूवा सङ्कलन तालिम दिनेछन् भने एक सय ६० किसानका पाँच/पाँच वयस्क च्याङग्रा छानी आठ सय पश्मिना भुवाको नमूना सङ्कलन गरिनेछ ।
पश्मिनाको गुणस्तरमापनमा सहयोग पुगोस् भनेर नमूना लिएका हरेकको निशानी लगाइने छ र सबै च्याङ्ग्रा किसानलाई सङ्ख्या र भूगोलका आधारमा नमूना लिइने बताइन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख निना अमात्य (गोर्खाली) ले मुस्ताङमा पहिलो पटक गरिएको नमूना सङ्कलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताइन् ।
उनले भनिन्, “च्याङ्ग्राको पश्मिना राम्रो छ भन्ने गरिन्छ । तर क्वालिटीका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो । यसैमा आधारित भएर नश्ल सुधारका लागि थप कार्यक्रम बनाउन सहयोग पुग्दछ ।”
अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले सङ्कलित नमूनालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने जानकारी दिए ।
यसबाट पश्मिनाको गुणस्तरले यसको महत्व तथा बजार मूल्यमा प्रभाव पार्ने उनले बताए । लो—घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले मुस्ताङ जिल्लाभर सञ्चालन हुने नमूना सङ्कलन अभियानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय कृषकको आयआर्जनलाई वृद्धि गर्न नमूना सङ्कलन महत्वपूर्ण रहेको गुरुङको भनाइ छ ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्ब गुरुङले नमूना सङ्कलन अघि किसानलाई पूर्वजानकारी र उद्देश्यका बारेमा बुझाउनु आवश्यक रहेको बताए । प्राकृतिक रुपमा वीरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढी रहेको बताइन्छ ।
राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिद कर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले राम्रो आम्दानी गर्न सकिने बताइन्छ । नमूना सङ्कलनमा च्याङ्ग्रा पश्मिना पालक सङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend