logo

२०८३ असोज ७ बुधबार

सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती बढ्दै

सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती बढ्दै


हाम्रो राष्ट्र
  • शनिबार, २६ साउन २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ । स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन् ।

    सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीका चन्द्रमणि मैनालीले अन्य पेसा व्यवसाय छाडेर ड्रागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने क्रम बढ्दै गएको बताउनुभयो । यस फलको राम्रो भविष्य देखेर आफू पनि व्यावसायिक खेतीमा लागेको उहाँले जानकारी दिनुभयो । “पहिलो चरणमा आफ्नै ३३ कठ्ठा खेतमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेको छु । हाल १४ सय ७० वटा सिमेन्टका पोलमा चारवटाका दरले पाँच हजार आट सय ८० वटा बिरुवा हुर्काउन सफल भएको छु”, मैनालीले भन्नुभयो ।

    उहाँले लगाउनुभएको ड्रागन फ्रुटको बिरुवाले तीन वर्ष पुग्दानपुग्दै फल दिन सुरू गरिसकेको छ । उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुने गरे पनि मागअनुसार नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरेको मैनालीले बताउनुभयो । उहाँले एउटा बिरुवाबाट वर्षमा १० किलोसम्म फल उत्पादनको लक्ष्य राखेको बताउनुभयो ।

    यहाँ ड्रागन फ्रुट प्रतिकिलो रु तीन सय ५० देखि रु चार सयसम्म बिक्री हुने गरेको छ । गत वर्ष करिब रु ५० लाखको बिरुवा र सोही बराबरको फल बिक्री गरेको मैनालीले सुनाउनुभयो । “माग बढ्दो छ तर सोअनुसारको उत्पादन छैन । बिरुवा हुर्कँदै गरेकाले पनि मेरो बारीमा थोरै फलेको छ । व्यापारीहरूको माग पू्रा गर्न सकेको छैन”, उहाँले भन्नुभयो ।

    यस्तै सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशील खड्काले पनि व्यावसायिक उत्पादनको लक्ष्यसहित ड्रागन फ्रुटको खेती गर्नुभएको छ । उहाँले हाल पाँच कठ्ठा खेतमा बिरुवा लगाउनुभएको छ । “यस फलको बारेमा धेरैका कुरा सुनेको थिए, सबैबाट राम्रो हुन्छ भनेको सुनेर यसतर्फ आकर्षित भएको हुँ, त्यसैले हाल थारै जमिनमा बिरुवा लगाएको छु”, उहाँले भन्नुभयो, “बिरुवा पनि सुरूमै धेरै किनेर लगाउन सकिएन । अब यही रोपेको बिरुवाबाट उत्पादन गरेर विस्तार गर्ने सोचमा छु ।”

    उन्नत जातको भनेर प्रतिगोटा रु तीन सयका दरले खरिद गरेर आठ सयवटा पिलरमा तीन हजार दुई सय बिरुवा लगाएको खड्काले बताउनुभयो । “भर्खरै फल्न सुरू गरेकोले स्थानीय बजारमा थोरै थोरै पठाउने गरेको छु । मागको अवस्था हेर्दा खेती बढाउने योजनामा छु”, उहाँले अगाडि भन्नुभयो ।

    उहाँजस्तै जिल्लाको लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानमा किसानले परीक्षणस्वरुप हाल यो फलको खेती गरिरहेका छन् । ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा युवापुस्ताको समेत आकर्षण बढ्दै गएको छ । यसले जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती गरेर स्वरोजगार हुने क्रम बढेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवले बताउनुभयो ।

    यहाँको मौसम तथा भूगोलअनुसारको बिरुवा रहेकाले उत्पादन राम्रो हुने उहाँको दाबी छ । ड्रागन फ्रुट रोपेपछि पाँच वर्षसम्म बिरुवा हुर्कने र २० वर्षसम्म उत्पादन दिने केन्द्र प्रमुख यादवले बताउनुभयो । “सुरूमा केही वर्ष बिरुवा हुर्काउन समय लाग्छ तर फल लाग्न थालेपछि नियमति रूपमा वर्षौसम्म उत्पादन हुने भएकाले पनि यहाँका धेरै किसान यसतर्फ आकर्षित हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

    यस खेतीलाई बढाउनका लागि तीनै तहका सरकारले प्रविधि र अन्य सहयोग गर्न सके धेरै युवाहरू यसतर्फ आकर्षित हुने हाल व्यवसाय गरिरहेका कृषकहरूले बताउने गरेका छन् । रासस

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend