logo

२०८३ साउन १३ बुधबार

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व


हाम्रो राष्ट्र
  • बुधबार, ५ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट सङ्कलन गरेको हो ।

    बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वन पैदावार बिक्रीबापत् रु एक करोड ३५ लाख ६८ हजार नौ सय २९, काठ दाउरा बिक्रीबाट रु आठ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत रु एक करोड २७ लाख ३३ हजार ८२ सङ्कलन गरेको छ ।

    त्यस्तै दण्ड सजायबाट रु २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट रु तीन लाख ७७ हजार पाँच सय ७० असुली गरेको छ । निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट रु दुई करोड ८४ लाख चार हजार पाँच राजस्व सङ्कलन गरी कूल रु चार करोड ५२ लाख आठ हजार छ सय २६ सङ्कलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिनुभयो ।

    निकुञ्जमा वनसम्बन्धी विभिन्न १२ र वन्यजन्तुसम्बन्धी २४ गरी ३६ मुद्दा दर्ता भएकोमध्ये चार ओटा मुद्दा फैसला भएका छन् । बाँकी मुद्दा क्रमशः फैसला गरिँदै लगिने जनाइएको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मूलुकका गरी कूल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमध्ये नेपाली १८ हजार १०, विदेशी छ हजार छ सय ८४ र सार्क मुलुकका एक हजार चार सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । बर्दियामा पर्यटकले हात्ती, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न मन पराउने ठाकुरद्वाराका पर्यटन व्यवसायी गोविन्द अधिकारी बताउनुहुन्छ ।

    पर्यटकले प्राकृतिक विविधतासँगै स्थानीय थारु संस्कृति, परम्परा, परिकार मन पराउने गर्छन् । जङ्गल ‘वाक’ तथा सफारी गर्दै घण्टाँै कुरेर विदेशी तथा स्वदेशी पर्यटकले निकुञ्जमा बाघ हेरेर फर्किने गरेको व्यवसायी अधिकारीले बताउनुभयो । निकुञ्ज प्रवेश तथा जीप सफारी गर्दा निकुञ्जमा निश्चित दस्तुर बुझाउनुपर्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend