रोजी पराजुली । बुहारी भएर भित्रिएको पहिलो वर्ष खासै केहि थाहा भएन । त्यो समयको अनुभूति यति छ कि सबै कुरा नयाँ थियो र धेरै चाँडो बित्यो । दोस्रो वर्ष चाहिँ, ठूलो नन्दको विवाह भइसकेको थियो, र त्यो वर्ष नन्द पहिलो पटक आफ्नो माइतीमा आमासँगै तीज मनाउनु पर्ने चलन अनुसार घर आउनुभएको थियो । त्यो बेला सासूले भन्नुभयो, ‘नन्द आउँछिन्, बिहे भएको भए पनि छोरीले पहिलो तीज आमासँग घरमै मनाउनुपर्छ ।’ सासूले यति स्पष्ट रूपमा भन्नुभएको कारणले मैले पनि सासू र नन्दसँगै घरमै तीजको व्रत बस्ने निधो गरें ।
नन्द र मेरो सम्बन्ध साथीझैँ थियो, हामी एउटै उमेरका थियौँ । तर मेरो बिहे पहिले नै भयो । नन्दको बिहे हुँदा मेरो छोरा एक वर्षको भइसकेको थियो । त्यो तीजमा हामी सँगै व्रत बस्यौं । व्रत बस्ने क्रममा हामीले सासूसँगै पूजा गर्यौं, त्यसपछि नाचगान गर्दै रमाइलो भयो ।
पहिले–पहिले तीजको अघिल्लो राति १२ बजेसम्म दर खाएर मात्र भोलिपल्ट व्रत बसिन्थ्यो, किनकी राति १२ बजेपछि भोलि शुरू हुन्छ । व्रतको दिन बिहान उठेर नुहाई धुवाई गरेर पूजा सक्नुपर्थ्यो । दिउँसोको समयमा फलफूल, दूध, वा चिया खाने होला भन्ने लागेको थियो, किनकि माइतीमा मेरो बुबाले ममीलाई पूजा सकेपछि दूध–चिया खुवाउनुहुन्थ्यो । तर घरमा त परम्परा अर्कै रहेछ । जब मैले सासूलाई सोधेँ, उहाँले भन्नुभयो, ‘तीजको व्रतमा पानी पनि खानु हुँदैन।’ त्यसैले म चुपचाप बसेँ । नन्दले पनि ममीले भनेपछि मानेर दिनभर तिर्खा र भोक सहेर बस्नुभयो ।
साँझ बत्ती बालेर केही खान पाइन्छ होला भन्ने आशा गरेकी थिएँ, तर त्यो पनि नहुने रहेछ। सासुले फेरि भन्नुभयो, ‘तीजको व्रतमा पानीसमेत खानु हुँदैन । भोलिपल्ट गौदान गरेपछि मात्र केही खान पाइन्छ ।’ अब हामीलाई साह्रै गाह्रो भयो । एक त भोकले धेरै नै थकित भइसकेका थियौँ, अर्को तिर्खाले झन् गाह्रो बनायो । मेरो बच्चा दूध खाने थियो, र नन्द पनि गर्भवती हुनुहुन्थ्यो । त्यस्तो अवस्थामा हामीलाई थप कठिन भइरहेको थियो । सासूले ससुरा र परिवारका लागि सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निराहार व्रत बस्दै आइरहनु भएको र हामीलाई पनि त्यहीँ अनुसार ज्वाँई र छोराका लागि व्रत बस्दा पानी खानु हुँदैन भन्नुभयो ।
मेरो श्रीमानले हाम्रो अवस्था देखेर, ‘अब यिनीहरूलाई गाह्रै हुने भो, मैले केही खुवाउनु पर्छ’ भन्नुभयो । उहाँले रातिको १२ बज्न लागेपछि चुपचाप भान्सातिर केही पकाउन थाल्नुभयो । त्यो बेला वीराटनगरमा पानी निकाल्न ट्यूबवेल चलाउनुपर्ने अवस्था थियो। हामीलाई ट्यूबवेलबाट पानी निकाल्न त के, उभिनसमेत गाह्रो हुँदै थियो । खाना तयार भएपछि उहाँले भन्नुभयो, ‘अब १२ बज्यो, भोलिपल्ट भइसक्यो, केही खाँदा हुन्छ ।’ त्यसपछि उहाँले हामीलाई पानी निकालेर नुहाउन सजिलो बनाइदिनुभयो । नुहाएर खाना खाएको हाम्रो तीजको व्रत अझै सम्झनामा ताजा छ ।
नन्दले त्यो वर्षदेखि भन्न थाल्नुभयो, ‘म तीजमा दर खाएर व्रत बस्ने दिन चाहिँ घरै जान्छु माइतीमा व्रत बस्न गाह्रो हुन्छ । कठोर व्रत बस्न नसक्ने हुनाले मेरी सासू निकै सजिलो हुनुहुन्छ ।’ तर मेरो सासु को घरमा गर्ने नियम कानून संस्कार कडा अनुशासनका कारण मैले पनि फलो गर्न थाले । ६० सालमा कान्छी नन्दको विवाह गरेसँगै दुई छोरा लिएर काठमाडौं आएपछिको ठूलो संघर्ष परिवार धान्न धौ धौ हुँदा सासूले सिकाएका हरेक कुरा आँखा अगाडि झल झल आउन थाले । यसो गर्दा लक्षिण भएर घरमा सह हुन्छ भन्ने लाग्थ्यो । हुन पनि माइतीमा एक चिज माग्दा दर्जन ल्याइदिने मेरो बुवा र मायाले हुर्काउने मेरो ममीले अभाव भन्ने कुरा कुन चीजको नाम हो भन्ने आभास हुन दिनुभएन ।
बिस्तारै समय परिवर्तन हुँदै गयो । अहिलेको समयमा, रोगले गर्दा धेरैले व्रतका दिनमा फलार÷फलफूल र दूध खान थालेका छन् । मेरो सासू स्वर्गवास भएको पनि आज एक दशक भन्दा धेरै भयो । तर उहाँले सिकाउनु भएका हरेक कुराहरू अझै ताजै छन् । उहाँको अनुशासन र संस्कारले मलाई पनि बलियो बनाएको अनुभूति हुन्छ । सासूको सम्झना अहिले पनि ताजै छ, र उहाँले दिएको संस्कारले मलाई जीवनभर मार्गदर्शन गरिरहेको छ । उमेरसँगै जिम्मेवारीको बोध पनि बढ्दै जानेरहेछ ।
हरितालिका तीज विशेष गरी पतिको दीर्घायु, परिवारको सुख–समृद्धि र सन्तान प्राप्तिको कामना गर्दै मनाउने गरिन्छ । हामीले तीजमा शिव र पार्वतीको पूजा गर्छौ । पौराणिक कथाअनुसार, पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न लामो समयसम्म कठोर तपस्या गरेकी थिइन् । तीजको व्रतले पार्वतीको तपस्याको सम्झना गराउँछ । पहिले तीजको महत्त्व माइतीमा थियो । तर अहिलेका दिनमा विभिन्न संघ संस्था र साथीभाइहरूको जमघटमा अगाडिदेखि मनाइन्छ । यसले एक आपसमा आत्मीयता बढाएको महसुस हुन्छ । तीजमा तडकभडकभन्दा पनि साधारण रूपमा मनाउन प्रेरित गर्न चाहन्छु ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend