काठमाडौं — दक्षिण एसियाली जुनियर यू–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार (भोलि) भारतको चेन्नई प्रस्थान गर्दैछ । प्रतियोगिता आगामी ११ देखि १३ सेप्टेम्बरसम्म हुनेछ‚ जहाँ नेपाली खेलाडीहरू विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
आइतबार एक कार्यक्रमबीच उनीहरुलाई विदाई गरिएको हो । पुरुषतर्फ आदेशकुमार यादव १०० र ४०० मिटर दौडमा‚ युवराज विक १०० र २०० मिटर दौडमा‚ बादल कार्की र अजय विक १५०० र ३००० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । विशाल गुरुङले लङजम्प र त्रिपलजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ अस्मिता भुजेल र नारायणी भण्डारी १५०० र ३००० मिटर दौडमा‚ डिना गोपाली १०० र २०० मिटर दौडमा‚ र अनिशा थारु ४०० मिटर दौडसँगै लङजम्प र त्रिपलजम्पमा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
टोलीका मुख्य प्रशिक्षक उषाकुमारी कर्ण र प्रशिक्षक विमला राना रहेका छन् । आदेशकुमार यादव‚ बादल कार्की‚ र अजय विक बाहेक सबै खेलाडीहरूको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
टोलीलाई बिदाइ समारोहमा कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले खेलाडीहरूलाई अनुशासनमा रहन सुझाव दिँदै एथलेटिक्सलाई व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले स्पोर्ट्स साइन्स ल्याब स्थापना गर्ने घोषणा गर्दै खेलाडीहरूको भविष्यलाई प्रोत्साहित गर्ने उल्लेख गर्नुभयो । समारोहको सञ्चालन एथलेटिक्स संघका सचिव आरके विष्टले गर्नुभएको थियो ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend