logo

२०८३ साउन १३ बुधबार

पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान

पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान


हाम्रो राष्ट्र
  • आइतबार, ३० भाद्र २०८१
  • 2.3K
    SHARES

    काठमाडौं । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ ।

    नेपाल तेक्वान्दो सङ्घले आज पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई रु एक लाख ५० हजार, पोखरा महानगरपालिकाले रु दुई लाख २२ हजार दुई सय २२ तथा नेपाल तेक्वान्दो सङ्घ कास्कीले रु ५० हजार पाँच सय र सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

    गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सो सम्मान प्रदान गर्नुभएको हो ।

    नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।

    पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन् २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा सन् २०१० देखि तेक्वान्दो खेल्न सुरु गरेको हुन् ।

    कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई गत वर्षबाट मासिक भत्तासहित सम्मानको कार्यक्रमलाई अघि बढाएको छ । पलेशा नेपाली खेलकुदमा इतिहास रच्ने खेलाडी भएको नाताले गण्डकी प्रदेशको खेलाडी नभए पनि उनलाई मासिक भत्ता उपलव्ध गराउने घोषणा गर्दछु ।”

    गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पलेशाको ऐतिहासिक उपलब्धिले खेल क्षेत्रमा नयाँ सञ्चार गरेको बताउनुभयो ।

    पोखरा महानगरका प्रमुख आचार्यले महानगर राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पु¥याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो । पलेसालगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महानगर सँधै साथमा छ ।”

    प्रमुख आचार्यले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा पलेशाको सफलता महत्त्वपूर्ण हुने बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend