logo

२०८३ साउन १३ बुधबार

सोह्र श्राद्ध : परम्परा र व्यक्तिगत अनुभव

सोह्र श्राद्ध : परम्परा र व्यक्तिगत अनुभव


हाम्रो राष्ट्र
  • बुधबार, २ असोज २०८१
  • 5.1K
    SHARES

    रोजी पराजुली । आश्विन कृष्ण प्रतिपदा अर्थात् पितृ पक्षको पहिलो दिनबाट सुरु हुने सोह्र श्राद्ध आजदेखि विधिवत् आरम्भ भएको छ । सोह्र श्राद्धको महत्त्व र परम्परा पुनस् एकपटक हाम्रो जीवनमा उजागर हुन्छ । यो समय पितृलाई सम्झने, तर्पण गर्ने, र पिण्डदान गर्ने विधिका लागि विशेष मानिन्छ । प्राचीन संस्कार र परम्पराका अनुसार, यो १६ दिने प्रक्रियाले हामीलाई पितृप्रति श्रद्धा अर्पण गर्ने अवसर दिन्छ ।

    व्यक्तिगत रूपमा, मेरो पनि यसरी पितृलाई चोखो जल र पकाएको खाना अर्पण गरेर मात्र खानुपर्छ भन्ने मान्यता छ । यसो गर्दा हामी केवल पुरानो रीति रिवाजलाई सम्मान मात्र गर्दैनौं, ताकि यसले हाम्रो स्वास्थ्य र निरोगी जीवनलाई पनि फाइदा पुर्याउँछ । १६ दिनसम्म नशा र मांसाहारी भोजनको परित्याग गर्दा हाम्रो शरीरमा सकारात्मक असर पर्नेछ भन्ने मेरो विश्वास छ ।

    धार्मिक र सांस्कृतिक दृष्टिकोणले, सोह्र श्राद्ध गर्दा हामी पाप अर्थात गलत्त सोचाइबाट पनि जोगिन सक्छौं । जब म हजुर बुवा, हजुर आमा, र सासू–ससुरालाई सम्झन्छु, मैले सपनामा उहाँहरूले आशीर्वाद दिएको देखेको छु । यी अनुभवले मलाई थप बल प्राप्त गराउँछ कि पितृलाई अर्पण गरेको भोजनले वास्तवमा परिवारलाई लाभ पुर्याउँछ ।

    सोह्र श्राद्धको समयमा, हामीले आफ्नो पितृलाई सम्झने अवसर मात्र पाइँदैन, यसले हाम्रो जीवनमा आन्तरिक शान्ति र सन्तोष पनि ल्याउँछ । हजुर बुवाको आशीर्वाद, हजुर आमाको माया, र सासू–ससुराको स्नेहको सम्झनाले हामीलाई जीवनका कठिनाइहरूमा पनि बल र धैर्य प्रदान गर्दछ ।

    शास्त्रीय परम्पराअनुसार, पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । यो समयमा पितृलाई तृप्त गर्न सोह्र श्राद्ध गर्नाले पितृ तृप्तिको कर्तव्य पूरा गर्नका साथै आगामी पर्वहरूको उत्सवमा पनि सकारात्मक ऊर्जा ल्याउने विश्वास छ । यस प्रकार, पितृलाई सम्मान गर्दै यो विधि मात्र धार्मिक कर्तव्यको रूपमा नमानीकन, हाम्रो जीवनको एक अभिन्न हिस्सा बन्न सक्छ ।

    त्यसैले, मैले बाचुन्जेल सदाचार पालन गर्न र परिवारको शुभकामना प्राप्त गर्नका लागि सोह्र श्राद्धको परम्परालाई सम्मान गर्दै आएकी छु । हरेक परम्परा र संस्कारले जीवनमा विशेष अर्थ राख्छ, र यसरी आस्थाका साथ गर्नाले जीवनको कठिनाइहरूमा पनि शान्ति र सन्तोष प्राप्त गर्न सकिन्छ । सोह्र श्राद्धको परम्परा हाम्रो सांस्कृतिक धरोहरको महत्वपूर्ण हिस्सा हो, जसले हामीलाई आत्मिक र सामाजिक रूपले जोड्ने काम गर्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend