काठमाडौं। संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य जीवन बहादुर शाहीले संविधान संशोधनको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको छ । उहाँले संविधानलाई समयानुकूल परिष्कृत गर्दै जनताका गुनासाहरू सम्बोधन गर्न जोड दिनुभयो ।
शुभकामना सन्देशमा, पूर्वमुख्यमन्त्री समेत रहनुभएका शाहीले महान् ज्ञात–अज्ञात सहिद, घाइते, र अपाङ्ग व्यक्तिहरूप्रति सम्मान प्रकट गर्दै, संविधानका उपलब्धिहरूको संस्थागत विकासमा प्रेरणा दिनका लागि आग्रह गर्नुभएको छ । उहाँले दुई तिहाइ बहुमतको सरकारले संविधान कार्यान्वयनमा देखिएका अवरोध र जटिलताहरू हटाउन प्रयास गर्नुपर्ने धारणा राख्नुभएको छ ।
हेर्नुहोस्, उहाँको शुभकामना सन्देश
सविधान दिवस्-२०८१ तथा राष्ट्रिय दिवसको पूनित अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। संविधानसभामार्फत् नेपालको संविधान जारी गर्ने नेपाली जनताको सदियौं देखिको सपनालाई सार्थक तुल्याउन अमूल्य जीवन अर्पित गर्नु हुनु महान ज्ञात-अज्ञात सहिद र घाइते तथा अपाङ्गहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
आजको दिनले नेपाली जनताको लामो प्रयास एवम् ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द,मधेस आन्दोलनसहित आदिवासी जनजातिलगायत विभिन्न समुदायका बासिन्दाहरुको संघर्षबाट प्राप्त सङ्घीयता, धर्म निरपेक्षता,सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका उपलब्धिहरुको संस्थागत विकासका साथै संविधानमा व्यवस्था भएका नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकारसहित सामाजिक न्याय र समृद्धिको सपनालाईसमेत सुनिश्चितता गर्न सबैलाइ प्रेरणा मिलोस् ।
नेपालको संविधानको हस्ताक्षरकर्ता मध्येको एक जना सदस्य भएको नाताले नेपाली जनतामाझ तत्कालीन समयमा उत्कृष्ट संविधान जारी गरेकै हौं तरपनि, समयको परिवर्तनसंगै जनतामाझ नविन इच्छा र चाहनाहरूको विकासक्रम हुने हुँदा संविधान संशोधन हुनु पर्ने आवाजहरू सुनिन थालेका छन्!
संविधान अपरिवर्तनीय दस्ताबेज होइन् संविधानमा भएका केही कानूनी प्रावधानहरूलाई समयानुकूल परिष्कृत गर्दै जानु पर्ने अर्थात् संशोधन गर्नु पर्ने राष्ट्रिय आवश्यकता देखिएको सन्धर्वमा नेपाली कांग्रेस र एमाले दुइ ठूला दलहरूको सहकार्यमा गठन भएको दुइ तिहाईको सरकारलाई संविधान कार्यान्वयनमा देखिएका अबरोध, जटिलता एवम् कठिनाईलाई संविधान संशोधनमार्फत् हटाएर जनताका गुनासाहरू संवोधन गर्न तथा मूल कार्यभार पुरा गर्न सफलता मिलोस् शुभकामना!!!
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend