logo

२०८३ साउन १३ बुधबार

संघीयताको सफल कार्यान्वयनले मात्र समग्र विकास सम्भव : महामन्त्री थापा

संघीयताको सफल कार्यान्वयनले मात्र समग्र विकास सम्भव : महामन्त्री थापा


हाम्रो राष्ट्र
  • सोमबार, ७ असोज २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयता नेपालको विकास असमानता र विभेदको अन्त्यका लागि आवश्यक रहेको बताउँदै यसलाई सही ढंगले कार्यान्वयन गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभएको छ । उहाँले संघीयता नेपालमा अनावश्यक र महँगो हुने भनाइलाई अस्वीकार गर्दै संघीयता कुनै बाह्य प्रभावमा नभई नेपाली जनताको लामो संघर्ष र आकांक्षाको परिणामस्वरूप आएको स्पष्ट पार्नुभयो । संघीयतालाई बोक्न नसक्ने भन्ने सोचाइ गलत भएको र यसको सफल कार्यान्वयनले मात्र देशको समग्र विकास सम्भव हुने महामन्त्री थापाको धारणा थियो ।

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । सो अवसरमा उहाँले जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रमा भइरहेको राहत तथा पुनर्निर्माण कार्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, पुनर्निर्माण प्रक्रियामा रहेका अनावश्यक झन्झट र ढिलासुस्ती हटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भत्किएका घरहरूको पुनर्निर्माणका लागि आवश्यक कार्यविधिलाई तत्काल संशोधन गरी पीडितलाई राहतको रकम वितरण गर्न सरोकारवालालाई सुझाव दिनुभयो ।

    महामन्त्री थापाले पार्टीलाई जनतासँग जोड्न र नागरिकसँग सम्बन्धित विषयमा सक्रिय रहन नेपाली कांग्रेसका सबै तहलाई निर्देशन दिनुभयो । उहाँले पार्टीका क्रियाकलापलाई जनमुखी र व्यवस्थित बनाउने कार्यमा यस प्रकारका अन्तरक्रिया कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा महामन्त्री थापाले नेपाली कांग्रेसको संगठनलाई समुदायसँग अझ घनीभूत रुपमा जोड्नुपर्ने आवश्यकता औंल्याउँदै, पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा भइरहेका सकारात्मक पहलहरूको प्रशंसा गर्नुभयो । महामन्त्री थापाले आन्तरिक विवादमा अल्झनुभन्दा पनि कांग्रेसलाई जनताको पार्टी बनाउने उद्देश्यले हरेक तहमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend