राजेन्द्र कार्की । २०८० कार्तिक १७ गते राती ११: ४६ बजे मस्त निन्द्रामा सुतिरहेको थिएँ । एक्कासी पुरै घर हल्लिएपछि मेरो निन्द्रा भंग भयो । भुकम्प गएको अड्कल लगाउन वेर लागेन । म सुतेको वेड, घर हल्लिरहेको थियो । बाहिर निस्कन खोज्दै थिए । भुकम्प जान रोकियो । श्रीमती, सानो छोरा र छोरी अघिल्लै दिन गाँउमा(रिसाङ्गमा) रहेको घरमा गएका थिए । घरमा ठुलो छोरा रिजन र म मात्रै थियौ । अर्को कोठामा रहेको रिजन आत्तिदै मेरो कोठा आयो । केही वेरमै छरछिमेकमा हल्लाखल्ला हुन थाल्यो । श्रीमति यमुनाको फोन आयो । साथीहरुको फोन आउन थाल्यो । मलाई भने भुकम्प ठुलै गएको अनुमान भयो । कत्ति रेक्टर र केन्द्र विन्दु कहाँ हो तत्काल पत्ता लगाउने खुल्दुली भैरह्यो । विभिन्न जिल्लामा रहेका साथीहरुको फोन आउन थाल्यो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल दाई देखि रोल्पाकी प्रेस युनियनकी पुर्व अध्यक्ष काँग्रेस नेत्री कविता बहिनी सम्मले हाम्रो बारे चासो चिन्ता प्रकट गरे ।
जाजरकोट नै केन्द्र विन्दु रहेको र धेरैको हताहति भएको खवरले झन मन आत्तियो । केही क्षणमै पत्रकार महासँघ जाजरकोटका अध्यक्ष बालकुमारजीले हाम्रो टोलमा त्यत्ति क्षति भएको छैन, थाप्लेतिर जाउ धेरै क्षति भएको छ रे भन्नुभयो । त्यसपछि केही वेरमै नलगाड नगरपालिकाका उपमेयर सरीता सिंहको निधन भएको खवर आयो । हामी थाप्ले हुँदै जिल्ला अस्पताल सम्म पुग्यौ । केहीको उद्धार पनि गरयौ । प्रमुख जिल्ला अधिकारी शुरेस सुनार सँग पनि सुचना आदान प्रदान भैरहेको थियो । केही वेरमै जिल्ला अस्पतालमा घाइते र मृतकले भरिन थाल्यो । स्वास्थ्यकर्मी देखि सवै आत्तिएका थिए । रुवावासी चलिरहेको थियो । तर पनि हामी कत्तिपनि विचलित भएनौ । उपचार, उद्धार र सही सुचना प्रवाहमा हामीले सहजीकरण गरिरह्यौ । उज्यालो हुँदा नहुँदै उद्धारको काम सकिसकेको थियो । स्थानियहरु, रेडक्रसकर्मी, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल उद्धारमा खटिएका थिए ।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकास घर्ती, उपमेयर सीता जैसी लगायतका जनप्रतिनिधीहरु फिल्डमै खटिएका थिए । उज्यालो हुँदा नहुँदै खवर जताजतै फैलिसकेको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल आउने कुरा भयो । ८ नवज्दै प्रधानमन्त्री सहित उपप्रधानमन्त्री पुर्णबहादुर खड्का, उर्जा मन्त्री शक्ति बस्नेत, पुर्वमन्त्री जनार्दन शर्मा, राजिव विक्रम शाह लगायतका उच्च पदस्थहरु प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभयो । उद्धार र उपचारमा सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । केही घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत, नेपालगञ्ज, काठ्मान्डौ पठाउने काम भयो । भुकम्पका कारण जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ जना गरेर १५४ जनाको ज्यान गयो । थुप्रै घाइते भए । हजारौ घरमा क्षति पुग्यो ।
म काम गर्ने अन्नपुर्णपोष्टका सम्पादक अखण्ड भण्डारीले विहान फोन गर्नुभयो । मेरो पारिवारिक अवस्थाबारे जानकारी लिनुभयो । हामी सवै ठिकै छौ भने पछि उहाँले जो भुकम्पमा बाँचे केही मानिसहरु सँग कुराकानी गर्नुहोला उनीहरुको भनाई, फोटोहरु र केही इश्युहरु दिदै नआत्तिएर रिपोटिङ्ग गर्न आग्रह गर्नुभयो । सोही अनुसार रिपोटिङ्ग गरे । त्यही विचमा केही अन्र्तराष्ट्रिय मिडियामा प्रत्यक्ष अन्र्तवार्ता दिने काम भयो । केही राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संचार माध्यामले फोटो र समाचार मागे । पठाएर सहयोग गरे ।
केही दिन दैनिक जसो समाचारको अपडेट दिने, नयाँ नयाँ इस्यु उठान गर्ने प्रकासन गर्ने काम चलिरह्यो । ओत लाग्ने त्रिपाल सम्म नपाएको, चिसोले बालबालिका, सुत्केरी, गर्भवतिहरु प्रभावित भएको लगायतका थुप्रै समस्याहरु उजागर गरिरह्यौ । राज्यको ध्यानाकर्षण गरिरह्यौ । राष्ट्रिय स्तरका पत्रिकामा रिपोटिङ्गका साथै जाजरकोटमा रहेका केही अनलाइन पोर्टल, एफएम रेडियो र एक मात्र छापा पत्रिका भेरीमालिका दैनिकले निरन्तर प्रभावितका आवाजहरु बुलन्द गरिरहे । जाजरकोटी पत्रकारले सन्तुलित भएर राज्य र सरोकारवालाको ध्यानाकर्षण गरिरह्यौ । राजधानीका विभिन्न संचारमाध्याम र इन्डियाबाट पनि रिपोटिङ्गका लागि पत्रकार साथीहरु जाजरकोट पुगे । विभिन्न उच्च पदस्थ ब्यक्ती देखि राष्ट्रपति सम्मको प्रभावित क्षेत्रमा भ्रमण चलिरह्यो ।
राज्य सेलाउन थालेको बेला निरन्तर कलम चलाईरहेका छौ जाजरकोटी पत्रकारले भुकम्प पिडितहरुका समस्या उजागर गर्ने सवालमा । राज्यलाई वारम्वार खवरदारी गरिरहेका छौ । जाजरकोटी पत्रकारहरु रेशम खड्का, हेमन्त केसी, सरोज वली, बालकुमार शर्मा, बासुदेव शर्मा, पवन शर्मा, कालीबहादुर नेपाली, दीपबहादुर घर्ती, भरत शर्मा, हरिहर सिंह राठौर लगायतले खेलेको भुमिका अतुलनिय छ । भुकम्पमा मात्र होइन । हरेक विपत र अफ्ठयारो परिस्थितिमा जाजरकोटी पत्रकारले खेलेको भुमिका अविस्मरणीय छ । चाहे २०६६/६७ मा फैलिएको झाडापखाला महामारी होस चाहे २०७२ सालमा फैलिएको स्वाइन फ्लु होस । चाहे ६ जना युवाहरुको ज्यान जाने गरी भएको सोती हत्या काण्डको रिपोटिङ्ग गर्ने सवालमा होस ।
शसक्त आवाज उठाएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सफल भएकोमा अहिले पनि मलाई गर्व लाग्छ । हामी हरेक सवालमा कर्णालीमै अब्बल दक्षता देखाइरहेको जगजाहेरै छ । यी सवाल उठान गर्नेमा अहिले पत्रकारीताबाट अर्को क्षेत्रमा गएपनि भीमबहादुर सिंह, वीरबहादुर गिरी, जनक केसी, बद्री पन्त लगायतका साथीहरुलाई सम्झिन चाहन्छु । उहाँहरुले पनि जिल्लाको विकास र मुद्धा उठानमा महत्वपुर्ण योगदान पुरयाउनु भएको छ । तर पत्रकार र पत्रकारीतालाई हेर्ने दृष्ट्रिकोण केही जिम्मेवार महानुभावहरुमा संक्रिर्ण रहेको हामीले महसुस गरेका छौ । भेरी नगरपालिकाले भुकम्प पछि केही मिडियालाई संस्थागत रुपमा सम्मान गर्यो तर जो फिल्डमा खटियो । जनताको पक्षमा आवाज उठायो त्यो पत्रकारलाई जिल्लाले सम्झिन सकेन । यही नेर दु:ख लाग्छ ।
यद्यपी, मैले यस बर्षको कर्णाली प्रदेशको प्रादेशिक पत्रकारीता पुरस्कार प्राप्त गर्न सफल भए । प्रेस काउन्सिल नेपाललले पनि यसै बर्ष प्रेस काउन्सिल क्रियाशिल पत्रकारीता पुरस्कारबाट पुरस्कृत गर्यो तर जिल्लाले सम्झिन सकेन । हुन त पुरस्कार पाउन र सम्मान पाउनका लागि पत्रकारीता गर्ने होइन । हामीलाई जनताको पक्षमा, आवाज विहिनको पक्षमा सधै कलम चलाउँदा उहाँहरुका कुरा र मुद्धा सम्बन्धित सम्म पुरयाउन पाउँदा राज्यको ध्यानाकर्षण गराउन पाउँदा त्यो भन्दा खुसी र सन्तुष्टि अरु कुनै हुँदैन । आत्मसन्तुष्टि भन्दा ठुलो कुरा केही छैन । त्यही भएर हाम्रो पत्रकारीता अविस्मरणी र गर्ब गर्न लायक लाग्छ ।
जाजरकोटको एक मात्र भेरी मालिका दैनिक पत्रिकाले जिल्लाको विकास, सुशासन र नागरिकका समस्या उठानमा खेलेको भुमिका निकै प्रसंसा योग्य छ । यो पत्रिका हामी सवैको बौद्धिक सम्पती हो । यसको निरन्तरताको कामना गर्दछु । सधै जनताको विश्वास जित्न, मन जित्न सफल होस बार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend