logo

२०८३ साउन १३ बुधबार

विश्व पर्यटन दिवस : पर्यटनको वास्तविक समृद्धिका लागि कार्यान्वयनको आवश्यक्ता – रोजी पराजुली

विश्व पर्यटन दिवस : पर्यटनको वास्तविक समृद्धिका लागि कार्यान्वयनको आवश्यक्ता – रोजी पराजुली


हाम्रो राष्ट्र
  • शुक्रबार, ११ असोज २०८१
  • 4.5K
    SHARES

    रोजी पराजुली

    नेपालको पर्यटन क्षेत्रलाई आर्थिक स्रोत र रोजगारीको प्रमुख आधार बनाउने अभियानमा हामी सक्रिय हुन आवश्यक छ । संसारकै सर्वोच्च शिखर सगरमाथा, ८ हजार मिटरभन्दा अग्ला ८ हिमालहरू, तराईको चार कोसे झाडी, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पशुपतिनाथ जस्ता धार्मिक स्थलहरू, चितवनको सौराहा, पोखराका तालहरू, मुक्तिनाथ र दामोदर कुण्डजस्ता धार्मिक र प्राकृतिक गन्तव्यहरूले नेपाललाई अमूल्य पर्यटकीय सम्पत्ति प्रदान गरेका छन्।

    तर, केवल यी प्राकृतिक र सांस्कृतिक खानीहरू मात्र हाम्रा आकर्षण होइनन्। नेपालीहरूको सत्कारशीलता, हाँसीरहने संस्कार, र अतिथिको सत्कार गर्ने परम्पराले पनि पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। यी सम्पत्तिहरूको सही संरक्षण र प्रवर्द्धन नगरेसम्म पर्यटनबाट अपेक्षित फाइदा लिन कठिन छ।

    हामी रमाइलो कार्यक्रममार्फत पर्यटन दिवस मनाइरहेका छौं, तर दिवस मनाउनु मात्र पर्याप्त छैन। हामीले ठोस कदम चाल्न आवश्यक छ। सरकारले दिगो पर्यटन प्रवर्द्धन गर्न र त्यसलाई देशको आर्थिक मेरुदण्डका रूपमा स्थापित गर्न पूर्वाधार विकासमा ध्यान दिनुपर्छ। यसका लागि पर्यटक स्थलहरूको पहुँच सुधार, पर्यटकहरूको सुरक्षा, र सांस्कृतिक धरोहरको संरक्षणमा विशेष ध्यान दिन जरुरी छ।

    हाम्रो देशको प्राकृतिक सुन्दरताका साथै, साहसिक गतिविधिहरू – पर्वतारोहण, पदयात्रा, र्‍याफ्टिङ, जंगल सफारी – पर्यटक आकर्षणको मुख्य आधार हुन्। यस्ता गतिविधिहरूलाई विश्वव्यापी स्तरमा थप प्रवर्द्धन गर्न सरकार र पर्यटन उद्योगले मिलेर काम गर्नुपर्छ।

    नेपाल, प्राकृतिक र सांस्कृतिक सम्पदामा धनी भए तापनि, त्यसको प्रत्यक्ष लाभ जनस्तरसम्म पुग्न सकेको छैन । यहाँका प्रचुर सम्भावनायुक्त क्षेत्रहरू पर्याप्त स्रोतसाधन र योजना नहुँदा ओझेलमा परिरहेका छन्। पर्यटन क्षेत्रले देशको गरिबी निवारणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ। त्यसका लागि योजना र नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ।

    राजनीतिक अस्थिरता, अव्यवस्थित पूर्वाधार, र कमजोर पर्यटन प्रवर्द्धनले पर्यटन क्षेत्रको विकासमा अवरोध पुर्याइरहेको छ। यो अवस्थालाई परिवर्तन गर्न सबै सरोकारवालाले समन्वयात्मक कदम चाल्न जरुरी छ।

    संघीयता लागू भएसँगै प्रदेश सरकारहरूले आफ्ना क्षेत्रको पर्यटन विकासमा ध्यान दिनुपर्छ। सातै प्रदेशले आ–आफ्ना प्राकृतिक र सांस्कृतिक धरोहरहरूको सही उपयोग गरेर दिगो पर्यटनको विकासमा अग्रसर हुनु आवश्यक छ।

    पर्यटनको क्षेत्रमा दिगो र योजनाबद्ध विकासले मात्र नेपालको समृद्धि सुनिश्चित गर्न सक्छ। त्यसैले, विश्व पर्यटन दिवसलाई उत्सवका रूपमा मात्र सीमित राखेर होइन, नेपाललाई पर्यटनको सशक्त गन्तव्य बनाउन ठोस कदम चालेर अगाडि बढ्न जरुरी छ।

    नेपालको सुन्दरताको महत्त्वलाई विश्वमा फैलाउन हामी सबैको महत्वपूर्ण भूमिका रहेमा पर्यटन विकासमा दीर्घकालीन योजना र सही कार्यान्वयनमा सबैको योगदान अपेक्षित छ । सबैको सहयोग र प्रयासले नेपाललाई पर्यटनको प्रमुख गन्तव्य बनाऔं ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend