logo

२०८३ साउन १५ शुक्रबार

‘जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

‘जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’


हाम्रो राष्ट्र
  • आइतबार, २० असोज २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

    “अविरल वर्षा र बाढीका कारण देशवासी आक्रान्त छन् । सरकारले प्राथमिकताका आधारमा विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छ”, शनिबार धनुषाको लालगढमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा उहाँले भन्नुभयो ।

    बाढी र पहिरोले घरबारविहीन बनेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको काम गम्भीरतापूर्वक गर्नुपर्ने सुझाव दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले वर्षाको सम्भावना अझै बाँकी रहेकाले जनता तथा सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    बाढीपहिरो जस्ता विपद्बाट जनधनको सुरक्षा गर्न पूर्वतयारी कम हुँदा धेरै क्षति भएको बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, “कुनै ठाउँमा पहिरो जान सक्ने कुनै ठाउँमा भुस्खलन हुनसक्ने, कुनै ठाउँमा तटबन्ध अझै तोड्न सक्ने सम्भावना भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न सरोकार भएका सबे सचेत हुनु जरुरी छ ।”

    मधेस प्रदेशको तीन ठाउँमा उपनिर्वाचन हुन लागेका बताउँदै अध्यक्ष नेपालले पार्टीका जिल्लाजिल्लामा पनि अधिवेशन गरेर केन्द्रीय अधिवेशनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले उपनिर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend