कञ्चनपुर । नेपाली बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न दोश्रो राष्ट्रिय र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा काठमाडौंका सिएम नविन तण्डुकारले शानदार प्रदर्शन गर्दै उपाधि जितेका छन्। नविनले ८ खेलमा अपराजित रहँदै ८ अंक बटुल्दै राष्ट्रिय र्यापिड च्याम्पियनको उपाधि आफ्नो नाममा लेखाएका हुन्। यससँगै, उनले नगद ३० हजार रुपैयाँ पुरस्कार जित्न पनि सफल भएका छन्।
महिला तर्फ, पोखराकी पूजा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै महिला उत्कृष्ट खेलाडीको उपाधि जितिन्। प्रतियोगितामा कुल ६३ जना राष्ट्रिय स्तरका शीर्ष खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा १९५६ रेटेड सिएम शुश्रुत दहालले ७ अंक जोडी टाइब्रेकरका आधारमा दोस्रो स्थान हासिल गरे। शुश्रुतले नगद २० हजार रुपैयाँ पुरस्कार जितेका छन्। यस्तै, तेस्रो स्थानमा २००८ रेटेड एफएम क्षितिज भण्डारीले ७ अंकका साथ तेस्रो स्थान हात पार्दै नगद १४ हजार जिते।
समान ७ अंक बनाएका २०४३ रेटेड आशिष् फूँयाल चौथो स्थानमा रहे भने उनले नगद ९ हजार प्राप्त गरे। एफएम रुपेश जैसवालले ६.५ अंकका साथ पाँचौं स्थान ओगट्दै नगद पुरस्कार जिते। २१०० रेटेड पुरुषोत्तम सिलवाल छैटौं र १९६० रेटेड धिरेन राई सातौं स्थानमा रहे।
यस्तै, आजै सम्पन्न पहिलो राष्ट्रिय ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा दोलखाका आशिष् फूँयालले उपाधि जित्दै नगद २० हजार पुरस्कार प्राप्त गरे। महिला ब्लिट्ज प्रतियोगितामा सिन्दिरा जोशीले उत्कृष्ट प्रदर्शन गर्दै नगद ५ हजार रुपैयाँ पुरस्कार जितिन्।
प्रतियोगिता पश्चात् आयोजित समापन समारोहमा विभिन्न विजेताहरुलाई सम्मान गरियो। प्रतियोगितामा तेस्रो नेकोस स्पर्धामा २ लाख ५५ हजार, दोश्रो राष्ट्रिय र्यापिड स्पर्धामा १ लाख ३१ हजार ५ सय, र पहिलो राष्ट्रिय ब्लिट्ज स्पर्धामा ८३ हजार ५ सय गरी कूल ४ लाख ७० हजार नगद पुरस्कार वितरण गरिएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend