संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले लिबियाको एक स्थानबाट साढे दुई टन प्राकृतिक युरेनियम हराएको र यसले रेडियोलोजिसम्बन्धी खतरा निम्त्याउन सक्ने बताएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूले भनेका छन्, “पहिले उपलब्ध करिब २.५ टन प्राकृतिक युरेनियम भएको १० ड्रमहरू त्यहाँ भेटिएका छैनन् ।”
उक्त स्थलबाट आणविक पदार्थ हटाउने परिस्थिति स्पष्ट गर्न र उक्त सामग्रीको ‘हालको स्थान’ बारे अनुसन्धान गर्न पनि प्रतिवेदनमा भनिएको छ । आईएईएले यसको खोजीका लागि थप गतिविधिहरू सञ्चालन गर्नेछ ।
आईएईएले भनेको छ, “आणविक पदार्थको वर्तमान स्थानको बारेमा ज्ञान गुम्नुले ‘रेडियोलोजिकल’ जोखिमका साथै आणविक सुरक्षासम्बन्धी चिन्तापनि निम्त्याउन सक्छ ।”
प्रतिवेदनमा उक्त स्थानको पहिचान गरिएको छैन र लिबियाले किन उक्त सामग्री कब्जामा लिएको हो भन्ने बारे केही बताइएको छैन ।
लिबियाका पूर्व तानाशाह मोआमेर कद्दाफीको नेतृत्वमा सन् २००३ मा आणविक हतियार कार्यक्रम रद्द गरिएको थियो ।
तर सन् २०११ मा कद्दाफीको पतनपछि उत्तर अफ्रिकी देश सङ्कटमा फसेको छ र असङ्ख्य लडाकूहरूले विदेशी शक्तिहरूको समर्थनमा विरोधी गठबन्धन बनाएका छन् ।
लिबियाको पश्चिममा रहेको राजधानी त्रिपोलीमा नाम मात्रको अन्तरिम सरकार र पूर्वमा सैन्य शक्तिशाली खलिफा हफ्तारको समर्थनमा रहेको अर्को सरकारबीच विभाजित छ ।
सुरुमा सन् २०२२ का लागि स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय गरिएको थियो तर यस क्षेत्रको सुरक्षा अवस्थाका कारण स्थगित गर्नुपरेको आईएईएको प्रतिवेदनमा उल्लेख छ ।
दस्तावेजमा भनिएको छ,“आईएईएले व्यावसायिक उपग्रह र अन्य खुला स्रोतबाट प्रतीकात्मक जानकारीको माध्यमबाट स्थानको नियमित निगरानी गरेको थियो ।
यी तस्बिरहरूको विश्लेषण गरेर नै एजेन्सीले सुरक्षा जोखिम र व्यवस्थापकीय चुनौतीको बावजुद भौतिक निरीक्षण गर्ने निर्णय गरेको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend