logo

२०८३ साउन १४ बिहिबार

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि


हाम्रो राष्ट्र
  • सोमबार, ३ मंसिर २०८१
  • 1.4K
    SHARES

    दागबत्ती दिँदै काठमाडौँ, ३ मङ्सिरः पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा सोमबार पशुपति आर्यघाटमा दागबत्ती दिँदै छोरा । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो । तस्बिरः विमलबहादुर विष्ट÷रासस
    काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो ।
    पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
    पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुग्नुभएको थियो ।
    अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकामा आजै बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो । नेपाल सरकारले आजै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँको योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।
    नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान तथा कानुनका ज्ञाता हुनुहुन्थ्यो ।
    विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ । विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहनुभएका ढुङगाना मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आउनुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend