logo

२०८३ साउन १३ बुधबार

परियोजनामा देखिएका समस्या समाधानमा सहयोग गर्ने विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको आश्वासन

परियोजनामा देखिएका समस्या समाधानमा सहयोग गर्ने विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको आश्वासन


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गरेका छन् ।

    सार्वजनिक–निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यको जानकारी प्रधानमन्त्रीले लिएका हुन् ।

    लगानी बोर्डको कार्यालयमा शुक्रबार भएको छलफलमा विकासकर्ता कम्पनीहरुले आफ्ना परियोजनामा देखिएका समस्याबारे अवगत गराएको र प्रधानमन्त्री दाहालले ती समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका लगानी बोर्डको कार्यालयले जनाएको छ ।

    “आज प्रधानमन्त्रीको ठूला परियोजनाका लगानीकर्तासँग छलफल र कार्यालय निरीक्षणको कार्यक्रम थियो । छलफलका क्रममा विभिन्न ११ परियोजनाका विकासकर्ता कम्पनीका प्रतिनिधिले सम्बन्धित आयोजना प्रगतिको अवस्था र देखिएको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।”, लगानी बोर्डको कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले भने ।

    लगानीमैत्री वातावरण बनाउनुपर्ने, वन ऐन तथा लगानी ऐनलगायत कानुनी सुधार गर्नुपर्ने, अन्तर निकाय समन्वय, जग्गा प्राप्ति सहजीकरण, स्थानीयका समस्या समाधानलगायतका विषयबारे विकासकर्ता कम्पनीले प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ ।

    परियोजना विकासकर्ता कम्पनीका समस्या सुनिसकेपछि प्रधानमन्त्री दाहालले त्यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने बताएका सहप्रवक्ता अधिकारीको भनाइ छ ।

    “प्रधानमन्त्रीले समस्या समाधानका लागि पहल गर्ने र विषयगत मन्त्रालयलाई निर्देशन दिने बताउनुभएको छ । अरु काम लगानी बोर्डको कार्यालयले समन्वय गर्न निर्देशन दिनुभएको छ ।” उनले भने ।

    कानुन संशोधन गर्ने र लगानीको वातावरण सहज बनाउनेबारे सरकार सकारात्मक रहेको आश्वासन पनि प्रधानमन्त्री दाहालले विकासकर्ता कम्पनीलाई दिएका छन् ।

    छलफलमा अरुण–३ तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी तथा हुवासिङ नारायणी परियोजना, नेपाल–चीनमैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केबलकार परियोजनाका विकासकर्ता कम्पनीहरुले परियोजनाको प्रगति, कार्यान्वयन तथा चुनौतीबारेमा जानकारी गराएका थिए ।

    माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पश्चिम सेती र एसआर–६ परियोजना, माथिल्लो त्रिशूली–१, अपर मस्याङ्दी–२, डावर नेपाल र राइजन नेपाल सोलार इनर्जी प्रोजेक्ट लिमिटेडका विकासकर्ता कम्पनीहरुले पनि आफ्नो परियोजनाको अवस्थाबारे कुरा राखेका थिए ।

    प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको बैठक भने लामो समयदेखि बस्न सकेको छैन । लगानी बोर्ड ऐनअनुसार हरेक दुई महिनामा बस्नुपर्ने लगानी बोर्डको बैठक गत साउनयता बस्न नसकेको हो । बोर्ड बैठक बस्न नसक्दा केही महत्वपूर्ण निर्णयहरु हुन सकेका छैनन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend