भक्तपुर:भक्तपुरको बाचामारी स्थित होटल सिटि गाउँ सभाहलमा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगिता दोश्रो दिन चार चरणको खेल सम्पन्न हुदा चार जना खेलाडीले संयुक्त अग्रता लिएका छन्।
नेपाल बुद्धिचाल महासंघ र जिल्ला बुद्धिचाल संघ भक्तपुरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा मकवानपुरका खेलाडी पुरुषोत्तम सिलवाल , काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष् फूँयाल र रौतहटका एफएम रुपेश जैसवाल अपराजित रहँदै ३.५ अंक जोडेर नेतृत्व गरिरहेका छन्।
आज सम्पन्न तेश्रो र चौथो चरणको खेलमा युवा उदीयमान खेलाडी पुरुषोत्तमले मलन लामा माथि जीत दर्ता गरेका थिए भने रिजेन्द्र सँग बराबरी खेलेका थिए। रिजेन्द्रले बराबरी खेल्नु पूर्व धिरेन राईलाई हराएका थिए। आशीषले रुपेश सँग बराबरी खेलि प्रकाशचन्द्र नेपाललाई पञ्छाउन सफल बनेका छन्। रुपेशले प्रसित खनाललाई पराजित गरि आशिष् सँग बराबरी खेलेका थिए ।
क्लासिकल १ घण्टा ३० मिनेट समयको स्टाण्डर्ड चेस खेलमा मकवानपुरका सिएम मिलन लामा , काठमाडौंका सुरज सिंह, भक्तपुरका राजेश कक्षपति, निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन र सिरहाका सुशील चौधरीले ३-३ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा उभिएका छन्।
आगामी माघ महिनामा हुने २५ औं राष्ट्रिय चेस प्रतियोगिताका लागि छनौट हुन खेलाडीहरुले एक आपसमा कडा टक्कर दिदै भोलि पुरुषोत्तम र रुपेश, रिजेन्द्र र आशीष, राजेश र मिलन, निकेन र सुशील, सुरोज र सुरज भिड्ने भएका छन्।
यसैगरी महिला तर्फ किर्तिपुरकी बिनिता कपालि र नेपालगञ्जकी ईशा गिरिले अपराजित खेल पस्कदै ३.५ अंक जोडेर संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन्।
यस अघि बिनिता कपालिले एञ्जेल महर्जन, लक्ष्मी कँडेल, पुनम प्रसाईं विरुद्ध जीत दर्ता गरेकी थिईन भने ईशासँग बराबरी खेल खेलेकी छिन्। उनले पाचौं चरणको खेल ओलम्पियाड खेलाडी रिया श्रेष्ठ सँग प्रतिस्पर्धा गर्ने छन्।
यस्तै ईशाले श्रेषा दुवाल, निहाना श्रेष्ठ, नयुमा मगरलाई क्रमश: हारको स्वाद चखाए भने बिनितासँग बराबरी खेलेकी छिन्। उनले अब चितवनकी लक्ष्मी कँडेलसँग खेल खेल्ने छन्।
अनुभवी लक्ष्मी कँडेलले २.५ अंक बोकेर दोश्रो स्थानमा रहन सफल भएका छन्। उनी सँगै पहिलो दिन सानदार खेल प्रदर्शन गरेकी झापा जिल्लाका पुनम प्रसाईं, दक्षिणकालिका एञ्जल महर्जन र रिया श्रेष्ठले समान अंक जोडेर संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्।
नेपाल बुद्धिचाल महासंघको पूर्व घोषित क्यालेण्डरी राष्ट्रिय बी प्रतियोगिता पुरुष तर्फ ९ चरणको खेल हुनेछ भने महिला तर्फ ७ चरणको खेल हुनेछ। जसमा पुरुष तर्फ ४० जना र महिला तर्फ १७ जना राष्ट्रिय खेलाडी प्रतिस्पर्धामा छन्। दुबै समूहवाट ९ – ९ जना खेलाडी छनौट भई नेपालका शीर्ष ३ जना सँग पुन: राष्ट्रिय च्याम्पियनको होडमा होमिने छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend