logo

२०८३ साउन १३ बुधबार

कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाबारे छलफल

कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाबारे छलफल


हाम्रो राष्ट्र
  • बुधबार, २६ मंसिर २०८१
  • 3.8K
    SHARES

    सुर्खेत:कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना गर्ने विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। पाकिस्तान एथलेटिक्स एसोसिएसनका अध्यक्ष तथा एशियन एथलेटिक्स एसोसिएसनका उपाध्यक्षको सहभागिता रहेको यस छलफलमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

    प्रदेश सरकारका मुख्यमन्त्री माननीय यामलाल कंडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह,सामाजिक विकास मन्त्रीसहित विभिन्न अधिकारीहरू र खेलकुद क्षेत्रका प्रतिनिधिहरूले कर्णाली प्रदेशमा खेलकुदको विकास, प्रवर्द्धन, र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका सम्भावनाहरूको विषयमा विचार-विमर्श गरे।

    मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेशलाई खेलकुदको केन्द्र बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिने बताउनु भयो।

    आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, एथलेटिक्स केन्द्रिय संघका अध्यक्ष पनि हुनुहुन्छ। उहाँले छलफलमा आफ्नो विशेष  धारणा राख्नुभएको थियो । उहाँले “अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्नु कर्णाली प्रदेशको मात्र होइन, सिंगो नेपालको प्रतिष्ठासँग सम्बन्धित विषय हो। यो प्रयासले  खेलकुदको विकास, पर्यटन, स्थानीय व्यवसाय, र रोजगारीका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँछ” भन्नुभयो ।

    मन्त्री शाहले कर्णाली प्रदेशलाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै “एथलेटिक्स क्षेत्रको विकासका लागि हामी दीर्घकालीन पूर्वाधार निर्माण, खेलाडीहरूको क्षमता अभिवृद्धि, र अन्तर्राष्ट्रिय संघहरूसँग सहकार्य गर्न प्रतिबद्ध छौं साथै उहाँले प्रदेश सरकार र एथलेटिक्स केन्द्रिय संघको संयुक्त प्रयासले खेलकुद क्षेत्रको रुपान्तरण गर्न सकिने विश्वास पनि व्यक्त गर्नु भएको थियो ।

    पाकिस्तान एथलेटिक्स एसोसिएसनका अध्यक्षले सुर्खेतस्थित रङ्गशालाको निरीक्षण गर्दै संरचनाको प्रशंसा गर्नु भएको थियो । उहाँले “सुर्खेतमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्नका लागि उपयुक्त भौतिक पूर्वाधार र प्राकृतिक वातावरण छ भन्नुभयो ।”खेलकुदको माध्यमबाट यस क्षेत्रको पहिचान अझ स्थापित गर्न सकिने धारणा पनि राख्नुभएको थियो ।

    सामाजिक विकास मन्त्रीले खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्‍याउने र युवापुस्तालाई सशक्त बनाउन महत्वपूर्ण माध्यम हुने बताउनु भयो। उहाँले प्रदेश सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न थप पहल गर्ने प्रतिबद्धता व्यक्त  गर्नु भएको थियो ।


    छलफल र रङ्गशालाको अवलोकनले कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि नयाँ सम्भावना देखाएको छ। मन्त्री शाहको नेतृत्व र एथलेटिक्स केन्द्रिय संघको सक्रियताले यस क्षेत्रलाई खेलकुद विकासको राष्ट्रिय केन्द्र बनाउने अपेक्षा गरिएको छ। यो पहलले खेलकुदको विकास गर्नेछ। कर्णाली प्रदेशको आर्थिक र सामाजिक रूपान्तरणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend