logo

२०८३ साउन १३ बुधबार

रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन एमालेको माग

रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन एमालेको माग


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 988
    SHARES

    काठमाडौं । नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

    पार्टी महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

    आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई आग्रह गरे ।

    महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटिरहेका बेला नेपालमा अनुदान कटौती गरिएको भन्दै आपत्ति जनाए । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई आग्रह गरे ।

    मल खरिदमा अर्बौं रकम खर्च भएपनि सोही अनुपातमा परिमाण बढाउन नसकेपछि सरकारले समग्र अनुदान ११.८ प्रतिशतले घटाएको छ ।

    अनुदान घटेसँगै अब किसानले किन्ने मलको भाउ बढ्नेछ । हाल रासायनिक मलमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । आयात बिन्दुमा युरिया प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँ बिक्री प्रयोजनको लागि तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    यो रकम खरिद मूल्यको आधारमा युरियामा ८० प्रतिशत, डीएपीमा ५९.०४ र पोटासमा ५८.२ प्रतिशत अनुदान हो । मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको गत सोमबार बसेको बैठकले मध्यान्ह १२ बजेदेखि आयात हुने बिन्दुमा मूल्य बढाउने निर्णय गरेको हो ।

    नयाँ मूल्य अनुसार किसानलाई युरिया प्रतिकिलो २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ, पोटास ४० रुपैयाँ पर्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend