हेटौंडा: हेटौंडाको होटल सामना सभाहलमा जारी २५औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन पाँच चरणका खेलहरू सम्पन्न भएसँगै, एफएम (फिडे मास्टर) रुपेश जैसवालले ४.५ अंकका साथ एक अंकको स्पष्ट अग्रता बनाएका छन्।
मंगलबार सम्पन्न खेलमा रुपेशले हालका नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरे। खेलको २३औं चालमा राजनले “रुक सि सेभेन” गलत चाल खेल्दा रणनीतिक रुपमा कमजोर भए। यसले “बि सिक्स” पाउन गुमाउनुका साथै “ए सेभेन” पनि त्याग्न बाध्य बनायो, जसका कारण खेल रुपेशको पक्षमा सहज भएको थियो।
प्रतियोगितामा मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहालले समान ३.५ अंक हासिल गर्दै संयुक्त दोस्रो स्थानमा रहे। एफएम क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई हराए भने सिएम शुश्रुतले भक्तपुरका विनय थापालाई पराजित गरे।
त्यस्तै, तेस्रो स्थानमा तीन खेलाडी—दोलखाका आशिष् फूँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल, र एफएम रिजेन्द्र राजभण्डारी समान ३ अंकका साथ संयुक्त रुपमा रहेका छन्।
१०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पनि रोमाञ्चक खेल देखिएको छ। पाँचौं चरणको खेलपछि नेशनल वुमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर स्पष्ट अग्रता कायम गरेकी छिन्। सिन्दिराले चार खेलमा जीत र एक खेलमा बराबरी गर्दै अहिलेसम्म अपराजित यात्रा तय गरेकी छिन्।
त्यस्तै, एञ्जल महर्जन र बिनिता कपाली ४ अंकसहित संयुक्त दोस्रो स्थानमा छन्। एञ्जलले चार खेलमा जीत हासिल गरेकी भए पनि पहिलो हारको सामना गर्दै अग्रता गुमाउन पुगेकी हुन्। बिनिताले पनि चार शानदार जीत निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थिति मजबुत बनाएकी छिन्।
बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमालले समान ३.५ अंक जोड्दै संयुक्त तेस्रो स्थानमा सम्भावना कायम राखेका छन्।
नेपाल बुद्धिचाल महासंघका सल्लाहकार एवं बाग्मती प्रदेशका सांसद रामकृष्ण चित्रकारले प्रतियोगिताको सक्रियता र व्यवस्थापनप्रति प्रशंसा गरेका छन्। उनले बाँकी ६ चरणको खेलले नयाँ राष्ट्रिय च्याम्पियन जन्माउनेमा विश्वास व्यक्त गरे।
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आगामी दुई चरणको खेल बुधबार बिहान ९ बजे र दिउँसो ३ बजे हुने छ। प्रतियोगिता माघ १९ गतेसम्म जारी रहने छ। खेलको उत्कर्ष र नयाँ च्याम्पियनको प्रतीक्षामा सम्पूर्ण बुद्धिचालप्रेमीहरू उत्साहित छन्।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend