सुर्खेत: खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा खेलमैदान हुनुपर्ने आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बताउनु भएको छ ।जाजरकोटको छेडागाड नगरपालिकामा सुरु भएको पाँचौं मेयर कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शाहले खेलाडी उत्पादन र विकासका लागि आधारभूत संरचना निर्माण अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
“हामीले केन्द्रमा मात्र विजयी हुने खेलाडी खोजेर हुँदैन, स्थानीय तहबाटै नयाँ प्रतिभा उत्पादन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । खेल, शिक्षा र स्वास्थ्यलाई समृद्ध बनाउन पर्याप्त बजेट विनियोजन गर्नुपर्ने भन्दै पालिकाहरूलाई त्यसमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो ।मन्त्री शाहले खेलकुदलाई राजनीति भन्दा माथि राखेर दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो , “विकास र सेवामा राजनीति मिसाउनु हुँदैन। खेल क्षेत्रलाई संस्थागत विकास गर्न सबैको सहकार्य आवश्यक छ।”प्रतियोगितामा विभिन्न विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend