काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए ।
उनले भने, ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ।’
‘बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ। त्यसरी मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौँ’ प्रधानमन्त्रीले भने ‘’केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु। बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।’
बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend